यसरी भयो दुई कोरियाका प्रथम महिलाको त्यो दुर्लभ भेट

760
views

एजेन्सी सिउल । उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनबीच शुक्रबार शिखर वार्ता भइरहँदा उत्तर र दक्षिण कोरियाका प्रथम महिलाहरूबीच पनि भेट गर्ने महत्वपूर्ण अवसर जुट्यो ।

सीमावर्ती क्षेत्र पानमुनजोममा दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले आयोजना गरेको डिनरमा सहभागी हुन किमकी पत्नी री सोल जुङ पतिसँगै ‘निशस्त्र क्षेत्र’ पार गरेर दक्षिणी भूमिमा पुगेकी थिइन् । किम र मुनबीचको वार्तामा सहभागी नभए पनि उनी डिनरमा झुल्किएकी थिइन् ।

डिनर टेबुलमा बस्नुअघि उनको दक्षिण कोरियाली प्रथम महिला किम जोङ सुकसँग भेट भएको थियो । लगत्तै दुई कोरियाका प्रथम महिलाबीच पहिलोपटक ऐतिहासिक भेटवार्ता भएको थियो ।

स्थानीय समयअनुसार सवा ६ बजे साँझ पानमुनजोमको शान्ति गाउँमा पुगेपछि उनी सीधै दक्षिणी भेगस्थित शान्ति भवनमा पुगेकी थिइन् जहाँ उनको स्वागतमा डिनरको तयारी हुँदै थियो ।

दिउँसो सो भवनको दोस्रो तलामा मुन र किमबीच ऐतिहासिक वार्ता भएको थियो । दुई नेताले कोरियाली प्रायद्वीपमा दीर्घकालीन रूपमा शान्ति कायम गर्दै ६८ वर्ष लामो कोरियाली युद्ध समाप्त गर्न सहमति जनाएका थिए ।

‘शिखर सम्मेलन सफल भएको कुरा श्रीमानबाट सुन्न पाउँदा खुसी लागेको छ । दुई नेताबीचको वार्ता सकारात्मक रूपमा अगाडि बढेको पाएकी छु,’ रीले दक्षिणकी प्रथम महिलासँग भनिन् । दुई कोरियाली प्रथम महिला वास्तवमै चम्किला देखिन्थे ।

उत्तर कोरियाली समकक्षीसँग भेट हुन पाउँदा किम जोङ सुक निकै हर्षित देखिन्थिन् । उनीहरूले एक–अर्कालाई अंकमाल गरेको र हात मिलाएको दुर्लभ दृश्य लेन्समा कैद गर्न फोटो पत्रकारहरू तछाडमछाड गरिरहेको देखिन्थे ।

अर्को देशको नेतासँग परिचय गर्नुअघि दुवै देशका प्रथम महिला आ–आफ्ना पतिसँग बसेका देखिन्थे । किम जोङ उनलाई भेट्नेबित्तिकै दक्षिणकी प्रथम महिलाले खुलेर मुस्कान छरेकी थिइन् । उनले किमसँग हात मिलाएर केही बेर गफिएकी थिइन् ।

तर, उत्तरकी प्रथम महिला री सोल भने आफ्नी समकक्षीभन्दा कम खुलेकी देखिन्थिन् । तथापि, डिनर अवधिभर उनले मन्द मुस्कान छरेकी थिइन् । उनले हल्का पहेँलो रङको स्कर्ट पश्चिमी शैलीमा लगाएकी थिइन् । सर्लक्क परेको कपालले उनको अनुहारमा निखार ल्याएको थियो ।

सो ऐतिहासिक कार्यक्रम अवधिभर किम जोडी निकै चम्किला देखिन्थे । वर्तमान कोरियाली नेताका पिता किम जोङ इलले कहिल्यै पनि सार्वजनिक कार्यक्रममा आफ्नी पत्नीलाई सँगै लैजाँदैनथे । तर, किमले भने सो परम्परा तोडेका छन् ।