समृद्धि र समुन्नतिको जनअपेक्षा पूरा गर्नुपर्छः दाहाल

766
views

काठमाडौँ, १८, वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा राजनीतिक स्थिरता कायम गर्नुका साथै समृद्धि र समुन्नतिको जनअपेक्षा पूरा गर्नुपर्ने बताउनुभएको छ ।

बबरमहलस्थित नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको केन्द्रीय कार्यालय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अब विकास र निर्माणले गति लिने विश्वास व्यक्त गर्नुभयो ।

जनयुद्ध र शान्ति प्रक्रियामार्फत देशमा ठूलो राजनीतिक परिवर्तन ल्याउन आफूले नेतृत्व गरेको उल्लेख गर्दै उहाँले जनताको अपेक्षानुसार काम गर्ने अवसर प्राप्त भएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “जनताको अपेक्षाअनुसार काम गर्ने अवसर प्राप्त भएको छ, अब विकास तथा समृद्धि र समुन्नतिको जनअपेक्षा गर्ने जिम्मेवारी पूरा गर्नुपर्छ ।”

जनताले वामपन्थीलाई मुलुकको समृद्धिका लागि दुई तिहाइ मत दिएको स्मरण गराउँदै अध्यक्ष दाहालले जनताले दिएको अवसरलाई सदुपयोग गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।