डा. ‘केसीमाथि छानविनको माग गर्दै एक विद्यार्थी सातदिनदेखि अनसनमा

1674
views

काठमाडौं, १९ वैशाख । चिकित्सा क्षेत्र सुधारका लागि डा. गोविन्द केसी अनसन बसेको कुरा त हामी सबैले देखेसुनेकै कुरा हो । तर, विगत सात दिनदेखि डा. गोविन्द केसीकै विरुद्ध कोही व्यक्ति अनसन बसिरहेको छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ ।

चिकित्सा विद्येयक खारेज हुनुपर्ने र डा. गोविन्द केसीलाई छानविन गरी कार्वाही गर्नुपर्ने माग राख्दै ओखलढुंगाका एक युवा सात दिनदेखि खुल्ला मञ्चमा अनसन बसिरहेका छन् । मिसन सिन्धुलीगढी राष्ट्रिय मोर्चाको व्यवस्थापनमा ओखलढुंगा सिस्नेरीमा २१ वर्षीय विजय थापा वैशाख १३ गतेदेखि अनसन बसेका हुन् । थापा काठमाडौंको त्रिवेणी उच्च माविमा पढ्ने विद्यार्थी हुन् ।

डा. गोविन्द केसीले देशकै माग उठाइरहेका छन् । उनीविरुद्ध नै किन अनसन बस्नुभो ? भन्ने प्रश्नमा थापा भन्छन्, ‘गोविन्द केसी नाम होइन, प्रवृत्ति हो । नेपालमै चिकित्सा शिक्षा पढ्न नपाउँदा वर्षेनी ५ हजार विद्यार्थी विदेसिन्छन्, त्यत्रो पैसा विदेशमा पठाउने काम राष्ट्रहितमा छैन । कन्सल्टेन्सीहरु मोटाउने गरी गरिएको निर्णय हामी मान्दैनौं ।’

गोविन्द केसी अदृश्य शक्तिको उक्साहटमा लागेको थापाले आरोप लगाए । उनले भने, ‘गोविन्द केसी कसैको डिजाइनमा फसेका छन् । अहिले जसरी चिकित्सा विद्येयक आएको छ, त्यसले देशको हित हुँदैन । त्यसैले डा. गोविन्द केसीमाथि छानविन हुनुपर्छ । उनले यस्तो राष्ट्रघात गर्न पाउँदैनन् ।’

थापाका सहयोगी गोविन्द बोहराले चिकित्सा शिक्षा अध्ययनका नाममा वर्षेनी अढाई अरब नेपाली सरकार विदेसिँदा पनि सरकार लाचार बनेको बताए । उनले भने, चिकित्सा शिक्षाका लागि वार्षिक १० हजार विद्यार्थीले आवेदन दिन्छन्, नेपालमा पन्ध्र सय विद्यार्थीका लागि मात्र कोटा छ, बाँकी सबै विद्यार्थी विदेसिन्छन् । यसले देशलाई वार्षिक अढाई अरब घाटा भइरहेको छ ।’

बोहराले थपे, ‘एउटा डाक्टरले लाखौं विद्यार्थी हेर्नुपर्छ, डाक्टरले एउटा विद्यार्थीका लागि ३० सेकेण्ड पनि समय दिन सक्दैन, त्यस्तो देशमा बिरामीले कस्तो उपचार पाउँछ ? अहिले जुन विद्येयक आएको छ, यो सरासर देश र करोडौं नेपालीको भविष्यका विरुद्ध छ ।’

चिकित्सा विद्येयकले काठमाडौं उपत्यकाभित्र १० वर्ष मेडिकल कलेज खोल्न बन्देज लगाएको छ । तर, विद्येयकको दफा (१३) मा उच्च व्यवस्थापन क्षमता भएको कलेजलाई सम्बन्धन दिन सकिने व्यवस्था गरेर विदेशी लगानी भित्राउन खोजेको र राष्ट्रिय लगानीकर्ता निरुत्साहित गरेको बोहराको आरोप छ ।’

बोहरा भन्छन्, ‘उच्च व्यवस्थापन क्षमता भएकालाई दिने भनेर विदेशी लगानी भित्राउने नियत राखिएको छ ।’ बोहराले मेडिकल शिक्षामा १०% छात्रवृत्तिको व्यवस्थालाई संशोधन गरेर २५% बनाउनुपर्ने आफूहरुको माग रहेको बताए । ‘शिक्षा र स्वास्थ्यको जिम्मा राज्यले लिनुपर्छ’ बोहराले भने, ‘त्यो व्यवस्था नहुँदासम्म स्वदेशीलाई रोकेर विदेशीलाई सम्बन्धन दिने कुरा गलत छ ।’

चिकित्सा आयोग प्रधानमन्त्रीको मातहत राख्ने व्यवस्थाको पनि अनसनकर्ता थापाले विरोध गरेका छन् । थापाले भने, ‘सम्बन्धन विश्वविद्यालयबाट लिने तर आयोगको अध्यक्ष प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीको कुरा भिसीले मान्ने कि भिसीको कुरा प्रधानमन्त्रीले मान्ने ? यो व्यवस्था वैज्ञानिक छैन । उपकूलपतिकै अध्यक्षतामा आयोग बन्नुपर्छ ।’
तपाईको अनसनको खासै चर्चा छैन, कतिञ्जेल बस्नुहुन्छ अनसन ? भन्ने प्रश्नमा थापा भन्छन्, ‘जबसम्म डा. गोविन्द केसीमाथि छानविन हुँदैन, चिकित्सा विद्येयक खारेज हुँदैन, तबसम्म मेरो अनसन जारी रहन्छ ।’