भद्रकाली पीठमा सेनाको अतिक्रमण

1167
views

काठमाडौं २१ बैशाख । गुठी संस्थानको स्वामित्वमा रहेको भद्रकाली पीठ परिसरमा रहेको भवनमा वर्षौंदेखि नेपाली सेना बस्दै आएको छ । गुठीको अनुमतिबिना लामो समयदेखि जबरजस्ती उक्त भवन सेनाले प्रयोग गर्दै आएको छ । शक्ति र पहुँचको आधारमा गुठीको भवन वर्षौंदेखि सेनाले कब्जा गरेको गुठी संस्थानले जनाएको छ ।

हाल सेनाको सैनिक अभिलेखालयको कर्मचारी भद्रकाली मन्दिरको उक्त भवनमा बस्दै आएका छन् । ‘द्वन्द्वकालमा पायोनियर गण र त्यसपछि राष्ट्रिय सेवा दललाई त्यहाँ राखिएको थियो, अहिले सैनिक अभिलेखालयका कर्मचारी बस्दै आएका छन्् । गुठी संस्थानको केन्द्रीय लगत तथा अभिलेख शाखा भद्रकालीका प्रमुख राजेन्द्र दाहालले बताए । जीर्ण भवनमा जोखिमपूर्ण रूपमा सैनिक जवानहरू त्यहाँ बसिरहेका छन् । साविक काठमाडौं महानगरपालिका ११ स्थित कित्ता नं १८३ मा रहेको आठ रोपनी २ आना २ पैसा १ दाम जग्गामा भद्रकाली पीठ रहेको छ ।

दाहालले सेनालाई गुठीको भवनबाट छोडाउन धेरै पहल गरिएको बताए । ‘न त अनुमति नै लिएको छ न त घरको भाडा नै दिन्छन्’, दाहालले भने । उनले यसबारे पटक–पटक सरकारको ध्यानाकर्षण गराए पनि सेनालाई सार्ने काम नगरिएको बताए । सेना बसिरहेका कारण भवनको मर्मतसम्भार गर्नसमेत समस्या भइरहेको उनले बताए । पीठमा तीन वटा दुईतले भवन छन् । एउटा वर्षौंदेखि सेनाको कब्जामा छ । दुईवटा भवन गुठी संस्थानले प्रयोग गरिरहेको छ । सेनाको उपस्थिति पीठमा रहँदा भद्रकालीमा पूजा गर्न आउनेहरूसमेत तर्सने गर्छन् ।

’भद्रकाली अग्लो स्थानमा छ, त्यहाँबाट सबै ठाउँ देखिन्छ, कारण सुरक्षाका लागि सेना त्यहाँ बसेको छ’, उनले भने ।

लिच्छवीकालको कलिगत संवत ३८२५ मा गुणकामदेवले नीलपीठबाट भद्रकाली पीठको स्थापना गरेको उल्लेख छ । पहिले भद्रकाली श्मसानघाट थियो । सिंहदबार बनेपछि श्मसानघाट टेकुको पचलीघाटमा सारिएको दाहालले जानकारी दिए । सेनाका प्रवक्ता गोकुल भण्डारीले सदियौंदेखि भद्रकालीमा सेना बस्दै आएको बताए । उनले सेना त्यहाँ बसेको कुरा गुठी र पुरातत्व विभाग दुवैलाई जानकारी भएको बताए । ‘हामी सदियौंदेखि त्यहाँ बसिरहेका छौं’, हामी गुठी र पुरातत्वलाई जानकारी गराएर त्यहाँ बस्दै आएका छौं ।’ प्रवक्ता भण्डारीले सुरक्षाका लागि नै त्यहाँ सेना बसेको बताए ।

‘भद्रकाली अग्लो स्थानमा छ, त्यहाँबाट सबै ठाउँ देखिन्छ, त्यही भएर पनि सुरक्षाका लागि सेना त्यहाँ बसिरहेको छ’, उनले भने । भण्डारीले गुठीभन्दा पहिलेदेखि नै त्यहाँ सेना बहिरहेको बताए । गुठीले भने सेना पीठमा बस्दा गुठीमा सुरक्षाभन्दा त्रास बढी रहेको बताउने गरेको छ । भण्डारीले घरभाडाको विषयमा कुरा नभएको बताए, ‘हामी सदियौंदेखि सुरक्षाका लागि त्यहाँ बसिरहेका छौं, भाडाको त्यस्तो कुरा नै छैन, हामीले त्यसको संरक्षण र मर्मतसम्भार भने गर्छौं ।’ अन्नपूर्ण पोष्ट