सिन्डिकेट विरुद्ध देशैभरी निर्बाध सवारी सञ्चालन, व्यवसायी पक्राउ

1961
views

काठमाडौँ, २१ बैशाख । सिन्डिकेटको पक्षमा रहेका यातायात व्यवसायीले शुक्रबार गाडी नचलाए पनि कम्पनीका गाडीहरु निर्वाध रुपमा चलाइएको छ । काठमाडौंमा साझा, मयूर, महानगर, गोकर्ण, गन्तब्य, ओरेन्ज, स्वयम्भू, काँडाघारी, महालक्ष्मी लगायतका विभिन्न कम्पनीका यातायातका साधनहरु चलिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

यस्तै दाङमा पनि कालिका, मालिका, नमस्ते राप्ती, पाण्डेबश्ररी, चन्द्र सुर्य, साहारा लगायत कम्पनीका गाडीहरु निर्वाध रुपमा चलेका छन् । काठमाडौंबाट बाहिर हेटौंडा तर्फ जाने टाटा सुमो, निर्वाध रुपमा चलिरहेका छन । पूर्वको लागि लामो दुरीका सप्तकोशी, हिमगंगा, त्रिवेणी, सोलुखुम्बु, दुधकुण्ड, खुम्बु, सगरमाथा, खाँडादेवी, सिसाखेत लगायतका यातायातका साधनहरु चलिरहेका छन ।

पश्चिमको लागि भेरी, कञ्चनपुर शुक्लाफाँटा लगायतका यातायातका गाडी चलिरहेका ट्राफिक प्रहरीले जनाएको छ । पूर्बमा झापा मोरङ र सुनसरीमा सुर्योदय, बिन्देश्वरी लगायतका कम्पनीका यातायातका सधनहरु निर्बाध रुपमा चलेको जानकारी पूर्ब क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले इटहरीले दिएकोछ ।

नेपाल सरकारको भन्सार तथा राजस्व छुट पाएर कम्पनीमा दर्ता भए पनि सगरमाथा, नागरिक तथा हिमशिखर प्रालीका यातायातका साधनहरु भने चलेका छैनन । यस बिषयमा यातायात ब्यबस्था बिभागका प्रबक्ता तुलसिराम अर्यालले बुझेर नियम अनुसार कर्बा्हि गर्ने जानकारी दिएका छन ।

सिन्डिकेटलाई कुनै पनि हालतमा फिर्ता लिन नसक्ने भन्दै सिन्डिकेटको पक्षमा आन्दोलन गर्नेको रुट परमिट नै खारेज गर्ने यातायात व्यवस्था विभागले स्पष्ट पारेको छ । अत्यावश्यक सेवामा हडताल गर्ने गाडीको विवरण संकलन भैरहेको र विवरण संकलन भएपछि पहिलो दिनमै रुट खारेज गर्ने विभागको तयारी छ ।

यसै बिच प्रहरीले पश्चिम नेपाल बस ब्यबसायी समितिका उपाध्यक्ष जीवन कुमार बञ्जाडेलाई पक्राउ गरेको छ । ट्राफिकचोकस्थित आफ्नै पसल नजिकै चिया पिउदै गरेको अबस्थामा ईलाका प्रहरी कार्यलय बुटवलको टोलीले बञ्जाडेलाई पक्राउ गरेको हो ।

प्रहरीले फोन गरेर कहाँ हुनुहुन्छ भनेको र त्यस लगत्तै आएर पक्राउ गरेको पारिवारीक श्रोतले जानकारी दिएको छ । त्यस्तै प्रहरीले समितिका महासचिब पदमराज गाहालाई पनि नियन्त्रणमा लिएको छ । बञ्जाडेलाई पक्राउ गरेको केही समयपछि प्रहरीले गाहालाई पनि उनकै घरबाट पक्राउ गरेको हो ।