दुर्घटना स्थलमा पेस्तोल भेटियो

862
views

काठमाडौँ, २३ वैशाख । घटनास्थल पुगेको प्रहरीले एक पेस्तोल बरामद गरेको छ । काठमाडौंको बसुन्धरामा जीपले मोटरसाइकललाई ठक्कर दिएको खबरलगत्तै घटना स्थल पुगेको प्रहरीले लमजुङको सुन्दरबजार–३ घर भई हाल काठमाडौंको गैरीधारा बस्ने ४२ वर्षीय सुमन थापालाई पेस्तोल सहित पक्राउ गरेको छ ।

उनले चलाएको बा ३ च १६५४ नम्बरको निशान जीपले बा ४० प ५७७५ नम्बरको मोटरसाइकललाई गएराति सवा ११ बजे ठक्कर दिएको जानकारी पाएपछि महाराजगञ्जको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

ठक्कर दिने जीप चालकलाई नियन्त्रणमा लिन चेकजाँच गर्दा अगाडिको सिटबाट ‘अटो पेस्तोल यूएसए’ लेखिएको एकथान पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । पेस्तोलसँगै एक थान म्यागजिन र ३ राउन्ड गोलीसमेत बरामद भएको छ ।