मोदी–सी शिखर वार्ता-मोदीको आशा र चीनको रणनीति

सीलाई मोदीको भन्दा मोदीलाई सीको आवश्यकता किन ?

391
views

चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच गत साता चीनको बुहान सहरमा अनौपचारिक शिखर वार्ता भयो । उक्त वार्ताका लागि मोदी सरकारले पहल गरेको थियो । दुई देशबीचको सम्बन्ध सुधार, चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ, चीनले दाबी गर्ने विवादित क्षेत्रमा भएको दलाई लामाको भ्रमण, सीमा जोडिएका खोलाको पानी, दोक्लाममा भएको शैन्य शक्ति प्रदर्शन तथा क्षेत्रीय राजनीतिको विषयमा मोदी–सी वार्ता केन्द्रित थियो । समग्रमा विश्वको एकतिहाइभन्दा बढी जनसंख्या ओगट्ने उदीयमान अर्थतन्त्रको सम्बन्धले विश्व राजनीतिमा खास अर्थ नराख्ने कुरै भएन ।

वार्ताबारे भारत–चीनको फरक धारणा

बुहान भेटवार्ता अनौपचारिक मात्र भएकाले कुनै एजेन्डा तय गरिएका थिएनन् । यथार्थमा दुई देशबीच बिग्रिएको सम्बन्ध सुधारका आधार खोज्नमा भेटवार्ता सीमित थियो ।

          ब्रह्म चेलानी

मुख्य विवादित मुद्दाको निचोडमा पुग्ने अपेक्षा पनि गरिएको थिएन । तर, मोदी र सीबीच बुहान शिखरवार्तामा भएका समझदारीमा भारत र चीनले कसरी व्याख्या गरे भन्ने पक्षले खास अर्थ राखेको छ ।

उदाहरणका लागि सीमालाई लिएर भविष्यमा हुन सक्ने सम्भावित सैन्य गतिविधि हुन नदिन दुई पक्षबीच रणनीतिक आधारबारे बहस भएको दाबी भारतीय पक्षको छ । तर, वार्ताबारे चिनियाँ पक्षले निकालेको विज्ञप्तिमा सो कुरा कतै उल्लेख छैन ।

अर्कोतर्फ, चीनसँगको असन्तुलित व्यापारको चपेटामा भारत पिल्सिएको छ । यसैगरी, दुई देशबीचको व्यापार र लगानीलाई ‘सन्तुलित र दिगो’ बनाउने सहमति भएको भनाइ भारतीय पक्षको छ । तर, फेरि पनि यस्तो वाक्य चिनियाँ पक्षको आधिकारिक वक्तव्यमा देखिएको छैन ।

नाट्यघरजस्तो शिखर वार्ता

दुई देशका भनाइमा फरक देखिनु कुनै आश्चर्य र नौलो कुरा होइन । उक्त शिखरवार्ता केवल राजनीतिक नाट्यघरजस्तो मात्र भयो । चीन–भारतको सम्बन्धमा ठोस परिवर्तन ल्याउनेभन्दा पनि देखावटी बन्यो ।

बाध्यकारी रणनीतिक कारणले गर्दा मोदीले चीनसँग मेलमिलापको बाटो रोजेका हुन् । मुख्यतः घरेलु राजनीतिक जोखिमका कारण मोदीको नीतिमा अपर्झट परिवर्तन आएको हो । राष्ट्रिय चुनाव आउन एक वर्ष बाँकी हुँदा मोदीमा यस्तो बदलाव आएको छ ।

मोदीको नयाँ रणनीतिले भारतका रणनीतिक साझेदारहरूलाई अलमलमा पारेको छ । ‘स्वतन्त्र तथा खुला हिन्द–प्रशान्त क्षेत्र’ प्रति भारतको प्रतिबद्धतालाई लिएर साझेदार चकित भएका छन् । त्यसमा पनि हिन्द–प्रशान्त क्षेत्रमा ट्रम्प प्रशासनले राखेको उद्देश्यमा भारतको भूमिकामाथि शंका उत्पन्न हुन सक्छ ।

अमेरिकी नीतिका कारण बढेको मोदीको चीनमोह

चीनतर्फ मोदी मोडिनुको अर्को कारण विभिन्न शक्तिसँग सन्तुलित सम्बन्ध बनाउने प्रयास पनि हो । मोदीको अमेरिकापरस्त नीति भारतको हित गर्न असफल भएका कारण यस्तो बदलाव आएको छ । ट्रम्पले अन्तर्रा्ष्ट्रिय सम्बन्धमा चालेको कदम र साघुँरो भूराजनीतिक चालले भारतमाथि ठूलो दबाब सिर्जना भएको छ ।

ट्रम्पले २५ अर्ब अमेरिकी डलरबराबरको भारतको वार्षिक नाफामाथि कटौती गरेका छन् । उनले रुस र इरानसँगको सम्बन्धविच्छेद गर्नु र आतंकवादका बाबजुद पनि पाकिस्तानसँग पूर्ण कूटनीतिक सम्बन्ध स्थापना गर्नुले भारतलाई असहज स्थितिमा पु(याएको अवस्था छ ।

भारतले रुससँग गरेको रक्षा तथा ऊर्जा सम्झौतालाई लक्षित गरेर अमेरिकाले भारतलाई चेतावनी दिएको छ । यतिसम्म कि प्रतिबन्धित ऐनलाई आधार बनाएर भारतमाथि प्रतिबन्ध लगाउनेसम्मको धम्की ट्रम्प प्रशासनले दिएको छ । यसैगरी, सन् २०१५ को परमाणु सम्झौताको बाबजुद ट्रम्पले इरानलाई दबाउने नीति अख्तियार गर्नाले पनि भारतलाई अप्ठेरोमा पारेको छ ।

यसले गर्दा, इरानी चाबाहार बन्दरगाहलाई विस्तार गर्ने तथा आधुनिकीकरण गर्ने भारतको प्रोजेक्टमाथि अवरोध खडा भएको छ । भूपरिवेष्टित अफगानिस्तान तथा केन्द्रीय एसियामा छिर्ने भारतको बाटोका रूपमा उक्त बन्दरगाहलाई हेरिँदै आएको छ । ट्रम्पको निषेधात्मक भिसा नीतिका कारण भारतको सूचना तथा प्रविधि उद्योगले वार्षिक १ खर्ब ५० खर्ब अमेरिकी डलर गुमाउने अवस्था सिर्जना भएको छ ।

चीनले अन्तर्रा्ष्ट्रिय परिणामको कुनै हेक्का नराखी दक्षिणी चिनियाँ समुद्रमा सैन्य प्रयोजनका लागि सातवटा कृत्रिम टापु बनाएको सन्दर्भमा भारत चुप लागेर बसेकाले पनि अमेरिका नकारात्मक बनेको छ । उदाहरणस्वरूप, ७३ दिनसम्म चिनियाँ पक्षबाट दोक्लाममा भएको सैन्य गतिविधिलाई लिएर अमेरिकाले एक शब्द पनि बोलेन जब कि भारतमाथि आक्रमण गर्ने धम्कीसम्म चीनले दिएको थियो । बरु, जापानले खुलस्त रूपमै भारतको पक्ष लियो ।

अमेरिकाको नीतिले भारतको पुरानो मित्र रुसलाई चीनको नजिक धकेलिरहेको छ । यसैगरी, चीनमाथि अमेरिकाले व्यापार प्रतिबन्धका लगाएका कारण रुस, उत्तर कोरिया र इरानसँग चीनलाई अति नजिक बनाएको छ । यस्तो परिदृश्यमा अमेरिकाले भारतलाई अप्ठेरो पारिरहँदा पनि चीनको नजिक हुन बाध्य बनाइरहको छ ।

यसरी हेर्दा ‘आफ्नो मित्रलाई नजिक राख र आफ्नो शत्रुलाई अझ नजिक राख’ भन्ने पुरानो भनाइलाई भारतले मनन गरेझैँ देखिन्छ । अहिले सो पुरानो भनाइ चीन–भारत सम्बन्धमा पनि लागू भएको छ । अर्कोतर्फ, आफूतिर मोदीको झुकावलाई सीले प्रशंसा गर्नुको पनि आफ्नै रणनीति छ । त्यसमध्ये अमेरिकासँगको व्यापार युद्ध एक प्रमुख कारण हो । यसर्थ, चीनविरोधी कित्तामा भारतलाई धकेल्नु चीनको हितमा छैन ।

सुधार हुन नसकेको दुई देशको सम्बन्ध

सन् १९५१ मा तिब्बतलाई आफ्नो अधीनमा लिएपछि चीन भारतको छिमेकी बनेको थियो । तर, त्यसयता भएका उच्चस्तरीय द्विपक्षीय छलफलले अहिलेसम्म दुई देशको सम्बन्धमा सुधार ल्याउन सकेको छैन । उदाहरणका लागि अहिले पनि चलिरहेको दुई देशको सीमा विवाद समाधानार्थ सन् १९८१ मा चीन र भारतबीच पहिलो प्रयास भएको थियो ।

त्यो वेला भारतको अर्थतन्त्र चीनको भन्दा ठूलो थियो । अहिले चीनको अर्थतन्त्र भारतको भन्दा पाँच गुणा ठूलो छ भने चीनको सैन्य शक्तिका अगाडि भारत निरीह देखिन्छ । यस्तो अवस्थामा इतिहासदेखिको सीमा विवाद समाधानका लागि साँच्चै ठोस प्रयास गर्न जरुरी छ ।

विवादित क्षेत्र दोक्लामको सन्दर्भमा विगत आठ महिनायता चिनियाँ सैन्य बलले दोक्लामको अधिकांश हिस्सा आफ्नो अधीनमा लिएको छ । विभिन्न ठाउँ र फरक अवसरमा सन् २०१४ यता मोदीले सीलाई चौधपटक भेटिसकेका छन्, तर दुई देशको विवाद र सम्बन्ध सुधार गर्ने सन्दर्भमा खासै प्रभाव बनाउन तथा सकारात्मक परिणाम ल्याउन सकेका छैनन् ।

चार वर्षअघि प्रधानमन्त्री बनेका उनले चारपटक त चीनको भ्रमण गरिसके । यसैगरी, आउँदो मध्य जुन महिनामा सुरक्षा समूहका लागि हुने सांघाई सहयोग संगठनको सम्मेलनमा सरिक हुन पनि जानेछन् ।

भारतभन्दा चीनलाई फाइदा

सी र मोदीबीच भेट भएको एक महिनाअघि मात्रै भारतले आफ्नो सम्पूर्ण सैन्य शक्तिसहितको सबैभन्दा ठूलो सैन्य अभ्यास गरेको थियो । यसले चीन र पाकिस्तानलाई युद्धका लागि उत्तेजित बनाएको थियो । तर, मोदीले सीमा विवादलाई कम महत्व दिने र व्यापारमा बढी जोड दिने उपायको खोजी गर्न थाले ।

यस्तो अवस्थामा सीलाई मोदीको भन्दा मोदीलाई सीको आवश्यकता बढी छ । यसकारण सीको मनोबल झनै बढेको छ । परिणामस्वरूप, भारतको सुरक्षा तथा आर्थिक चिन्ता सम्बोधन गर्नेभन्दा पनि भारतीय बजारमा चिनियाँ उत्पादन बढाउने बाटो खुलेको छ । यसकारण, भारत र चीन दुवैले जितको अनुभव गर्ने वातावरण बनाउन मोदीबाट ठोस प्रयास हुन जरुरी छ ।

-ब्रह्म चेलानी नयाँदिल्लीस्थित सेन्टर फर पोलिसी रिसर्चमा रणनीतिशास्त्रका प्राध्यापक हुन् । उनले पानी- ‘एसियाको नयाँ युद्धमूमि’, ‘पानी -शान्ति र युद्ध’ लगायत नौ प्रसिद्ध पुस्तक लेखेका छन् । नयाँ पत्रिका डट कम बाट