सिन्डिकेट अन्त्य गर्न यातायात व्यवसायीको सहमति

सरकारले चालेको सिन्डिकेट हटाउने कदमको स्वागत

844
views

काठमाडौँ, २४, बैशाख यातायात व्यवसायीले सिन्डिकेट अन्त्य गरेर प्रतिष्पर्धामा जाने भएका छन् । यातायात मन्त्री रघुवीर महासेठ र यातायात व्यवसायीका प्रतिनिधिबीच आइतबार राती सिन्डिकेट हटाउने लिखित सहमति भएको हो । सहमतिसँगै पक्राउ परेका यातायात व्यवसायीलाई सरकारले रिहा गरेको छ ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, महासचिव सरोज सिटौलसहित १६० व्यवसायी रिहा भएका हुन् । यससँगै यातायात व्यवसायीहरु आन्दोलन फिर्ता गर्न र कम्पनीमा जान सहमत भएका छन् ।

व्यवसायीले गरेको कागजमा सिण्डकेट तोड्ने सहमति

‘लिखितम हामी तपशीलका यातायात व्यवसायी महासंघका पदाधिकारीहरू आगे नेपाल सरकारले यातायात क्षेत्रमा सिन्डिकेट तोड्न चालेको कदमप्रति मेरो पूर्ण समर्थन र विश्वास रहेको छ । हामी र हाम्रो व्यवसाय नेपाल सरकारको नीति, निर्णय तथा कानुनी व्यवस्था प्रतिकूल हुने गरी सञ्चालन गर्नेछैनौँ र अरू कसैलाई पनि प्रचलित कानुन र नेपाल सरकारको नीति प्रतिकूल हुने कार्यमा प्रोत्साहन गर्नेछैनौँ ।

अब उप्रान्त हामी र हामीसम्बद्ध यातायात व्यवसायलाई प्रचलित कानुनबमोजिम दर्ता गरी सरकारको नीतिअनुकूल सञ्चालन गर्नेछौँ । यातायात क्षेत्रमा सरकारले चालेको सिन्डिकेट हटाउने कदमको स्वागत गर्दछौँ ।

त्यसविरुद्ध गएमा हाम्रो नाममा दर्ता भएको सवारीसाधनको रुट इजाजतपत्र खारेज गर्न तथा हामीलाई प्रचलित कानुनबमोजिम जस्तोसुकै कारबाही भएमा पनि हाम्रो मञ्जुरी छ, भनी तपशीलका व्यक्तिको रोहबरमा यो कागज लेखी लेखाई सहिछाप गरी नेपाल सरकारलाई चढायौँ ।’

यातायात क्षेत्रमा विद्यमान सिन्डिकेट तोड्न सरकारले व्यवसायीलाई पक्राउ, बैंक खाता, रोक्का, इजाजत पत्र रद्ध लगायतका कार्वाही अघि वढाएपछि उनीहरु सरकारले भनेअनुसार नै सिन्डिकेटको अन्त्य गर्न सहमत भएका हुन् ।