किङ्स ईलेभेन पञ्जाब र मुम्बई इन्डियन्स विजयी

972
views

काठमाडौं, २४, बैशाख । गएराती भएको इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा किङ्स ईलेभेन पञ्जाब र मुम्बई इन्डियन्स विजयी भएका छन् । पन्जाबले राजस्थान रोयल्सलाई ६ विकेटले हराएको हो ।
१ सय ५३ रनको लक्ष्य पन्जाबले के.एल राहुलको ८४ रनको मद्दतमा १८ ओभर ४ बलमा हासिल गर्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५२ रन बनाएको थियो । राजस्थानका लागि जोस बटलरले सबैभन्दा धेरै ५१ रन बनाएका थिए ।

आईपीएल क्रिकेटमा हिजै मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई १३ रनले हराएको छ । १ सय ८२ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन मात्र बनाएको छ ।

कोलकाताका लागि रोबिन उथप्पाले ५४ रन तथा दिनेश कार्तिकले अविजित ३६ रन बनाए पनि जितका लागि पर्याप्त भएन । मुम्बईका हार्दिक पाण्ड्याले दुई विकेट लिए ।

मुम्बईमा टस हारेर पहिले व्याटिङ गरेको घरेलु टोलीले ४ विकेटको क्षतिमा १ सय ८१ रन बनाएको थियो ।

मुम्बईका लागि सूर्यकुमार यादवले ५९ रन, एभिन लेविसले ४३ रन तथा हार्दिक पाण्ड्याले अविजित ३५ रन बनाएका थिए ।