प्रधानमन्त्री मोदीको भ्रमणका लागि जनकपुरको सुरक्षा व्यवस्थामा कडाई

739
views

काठमाडौँ २५ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका लागि जनकपुर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । जनकपुरको बिभिन्न स्थानमा सुरक्षामा कडाई गरिनुका साथै राजमार्गमा समेत चेकजाँच कडा पारिएको हो ।

प्रधानमन्त्री मोदीको सुरक्षालाई लिएर जनकपुरमा सुरक्षा निगरानी बढाइएको जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मोदीको सुरक्षा अवस्थाबारे जानकारी लिन विमानमा भारतीय सुरक्षा अधिकारीहरु जनकपुर पुगेका छन् । भारतीय सेनाको विशेष विमान सोमबार दिउँसो सवा १ बजे जनकपुर विमानस्थलमा अवतरण गरेको हो ।

मोदीलाई पाँच घेराको सुरक्षा व्यवस्था मिलाइएको छ । यसका लागि भारतीय सुरक्षा अधिकारी नेपाल आइसकेका छन् ।

उता मुक्तिनाथ मन्दिर दर्शनको समेत कार्यक्रम रहेको हुँदा सुरक्षा व्यवस्थालाई सुरक्षित र भरपर्दो तुल्याउन गृह प्रशासनले मनाङबाट थोरङ्गापास हुँदै मुस्ताङ र मुस्ताङबााट मनाङतर्फ आउने–जाने पदयात्रीलाई आगामी शुक्र र शनिबार रोक लगाउने निर्णय गरेको छ ।

२८ र २९ गते पैदल या हेलिकप्टर प्रयोग गरी मुक्तिनाथ क्षेत्रमा पुग्ने यात्रुलाई मन्दिर प्रवेशमा रोक लगाइएको मुस्ताङ जिल्ला प्रशासनले जानकारी दिएको छ । भारतीय प्रधानमन्त्री यहि २८ गते शुक्रबार जनकपुर आउँदैछन् ।