सेनाले मृतक परिवारलाई दश–दश लाख दिने

961
views

डोल्पा, २७ बैशाख । जाजरकोट–डोल्पा सडकको खदाङ–त्रिपुराकोटखण्डस्थित चिप्लेभिरमा ढुंगा लागेर मृत्यु भएका मजदुरका परिवारलाई नेपाली सेनाले दश–दश लाख क्षतिपूर्ति दिने भएको छ ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित चिप्लेभिरमा मंगलबार ढुंगा लागेर दुईजनाको मृत्यु भएको थियो । सडक निमाणका क्रममा रुकुमको आठबिसकोट नगरपालिका–१० का देवबहादुर चन्द र वडा नं. १२ का अमृत रानामगरको मृत्यु भएको थियो ।

त्यस्तै, वडा नं. ९ का शक्तिबहादुर शाही गम्भीर घाइते भएका थिए । जाजरकोट–डोल्पा सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ । उक्त सडक निर्माणमा नेपाली सेना, मजदुर तथा सर्वसाधारण छन् ।

किरिया खर्च ३५ हजार

चिप्लेभिरमा मृत्यु भएका दुवै मजदुरका परिवारलाई नेपाली सेनाले किरिया खर्च समेत दिएको छ । दाहसंस्कार गर्न र किरियाखर्च गर्न सहयोग पुगोस् भनेर ३५–३५ हजार रुपैयाँ दिएको जाजरकोट–डोल्पा सडक निर्माण कार्यदल प्रमुख कर्णेल विश्वबन्धु पहाडीले बताए ।

घाइतेको उपचार हुँदै
चिप्लेभिरमा ढुंगा लागेर घाइते भएका रुकुमको आठबिसकोट नगरपालिका–९ का शक्तिबहादुर शाहीको रुकुम जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारमा लाग्ने सबै खर्च पनि व्यहोर्ने सेनाले जनाएको छ ।