‘सडकमानव’रहित नगरपालिका बन्दै बुटवल उप–महानगरपालिका

748
views

रुपन्देही, २७, बैशाख । बुटवल उपमहानगरपालिका र मानव सेवा आश्रम रुपन्देहीका बीच सडक मानवरहित अभियानअन्तर्गत सञ्चालन गरिने आश्रमको स्थापना र संचालन विधिसम्बन्धी समझदारी भएको छ ।

बुटवल उपमहानगरपालिकाभित्र तथा आसपासका क्षेत्रमा सहयोगापेक्षी सडक मानवहरुलाई मानवोचित सेवा तथा स्याहार एवं औषधोपचार गराई पारिवारिक-सामाजिक पुनस्र्थापना जस्ता कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा सम्झौता भएको हो ।

बुटवल उप–महानगरपालिकालाई २०७५ असार मसान्तभित्रमा सहयोगापेक्षी सडक मानवरहित नगर घोषणा गर्ने गरी विशेष अभियान चलाइने भएको छ । ‘मान्छेको बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्ने उद्धेश्यबाट यो समझदारी गरिएको हो, यसमा अरु सामाजिक संघ संस्थाहरूको पनि सहकार्य जरुरी छ’, उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए ।

बुटवल उप–महानगरपालिकाले सेवा संचालन गर्नका लागि आवश्यक जग्गा तथा आवासको समेत ब्यवस्थापन गर्ने भएको छ । उपमहानगरपालिकाद्वारा स्थापना गरिने उक्त सहयोगापेक्षी सडक मानव आश्रमको अन्य सम्पूर्ण ब्यवस्थापनको कार्य मानव सेवा आश्रम रुपन्देही शाखाले गर्ने गरी सम्झौता भएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।

‘बुटवल उप महानगरपालिकाको सहकार्यमा सञ्चालित मानव सेवा आश्रम बुटवल, रुपन्देही’ नाममा यो आश्रम सञ्चालन गरिने भएको उपमहानगरपालिकाका निमित्त प्रशासकीय अधिकृत विष्णु खनालले जानकारी दिए ।

उपमहानगरपालिकाका तर्फबाट प्रमुख सुवेदी र मानव सेवा आश्रमका तर्फबाट रामजी अधिकारी ले हस्ताक्षर गरेका छन् । अहिले बुटवल उपमहानगरले नगर भित्र देखिएका वा रहेका सडक मानवहरुको तथ्यांक संकलनको काम गरिरहेको छ ।