द्विपक्षीय सहयोगबारे व्यापक छलफल गर्छु–मोदी

848
views

काठमाडौँ –भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको पूर्व सन्ध्यामा नेपालसँगको मैत्रीपूर्ण सम्बन्ध प्रगाढ भएको दर्शाएका छन् । भारतको कर्नाटक राज्यमा चुनावी प्रचारमा रहेका मोदीले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै मोदीले नेपाल–भारत द्विपक्षीय सहयोगलाई अझ व्यापक बनाउन प्रधानमन्त्री ओलीसँग विस्तृत छलफल गर्ने बताएका छन् ।

मोदीले ट्वीटमा भनेका छन्, ‘ प्रधानमन्त्री श्री केपी शर्मा ओलीको निमन्त्रणामा म ११ मे मा नेपाल जाँदैछु । यो यात्राले नेपालसँगको मैत्रीपूर्ण सम्बन्ध प्रगाढ भएको दर्शाउँछ । द्विपक्षीय सहयोगलाई अझ व्यापक बनाउने विषयमा प्रधानमन्त्री ओलीसँग म विस्तृत रुपमा छलफल गर्नेछु ।’

प्रधानमन्त्री मोदीले ‘हाम्रो दुई देशले पछिल्लो केही वर्षमा द्विपक्षीय कनेक्टिभिटी र विकासका परियोजनाहरू पुरा गरेको छ, यो हाम्रो नागरिकका लागि परिवर्तनका पहिलो शुरुवात हो। प्रधानमन्त्री ओली र मलाई पारस्परिक हितका मुद्दमा चर्चा गर्ने मौका मिल्नेछ, साथै विभिन्न क्षेत्रमा हाम्रो सहकारी र साझेदारीलाई अगाडि बढाउन मौका मिल्नेछ ।

काठमाडौँका अलावा म जनकपुर र मुक्तिनाथ जाने तयारीमा छु । यो दुवै क्षेत्र तिर्थयात्रीलाई आकर्षित गर्ने क्षेत्र हुन्। यी क्षेत्रले भारत र नेपालका नागरिकबीच प्राचिन र बलियो साँस्कृतिक र धार्मिक सम्बन्धलाई प्रमाणित गर्छ उनको फेसबुकमा लेखेका छन् ।