प्रहरीको घेरामा वैद्य माओवादीको कार्यालय, नेताहरु गिरफ्तार गर्ने क्रम जारी

1332
views

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)को पार्टी कार्यालयमा प्रहरीले हस्तक्षेप गरेको छ । नेताहरु पार्टी कार्यालयमा बसिरहेको अवस्थामा प्रहरीले पार्टी केन्द्रिय सदस्य हरिकृष्ण गजुरेल, नेता गोर्की श्रेष्ठ, बोधराज श्रेष्ठ, विकास तामाङ र प्रकाशचन्द्र ढकाललाई पक्राउ गरेको छ भने पार्टी स्थायी समिति सदस्य रामसिंह श्रीस, पिविएम पवनमान श्रेष्ठ, पार्टी केस सुरेश श्रेष्ठ, शारदा महतलगायत नेताहरुलाई गिरफ्तार गर्न प्रहरीले वलप्रयोग गर्न खोजिरहेको केन्द्रिय सदस्य श्रेष्ठले जानकारी दिनुभयो ।

काठमाडौंको असनमा रहेको क्रान्तिकारी माओवादीको जिल्ला पार्टी कार्यालयमा नेताहरु नियमित छलफलमा बसिरहेको अवस्थामा विना कारण हस्तक्षेप गर्ने र नेताहरुलाई गिरफ्तार गरेर ओली सरकारले राज्यआतंक फैलाउन खोजेको नेताहरुले प्रतिक्रिया दिएका छन् । अहिले क्रान्तिकारी माओवादीको उक्त पार्टी कार्यालयलाई प्रहरीले घेरा हालेर राखेको छ ।

क्रान्तिकारी माओवादीले मोदीको नेपाल भ्रमण राष्ट्रघातको श्रृंखलाको रुपमा भएको भन्दै चर्को विरोध गर्दै आएको छ । अरुण तेस्रो, कोशी उच्चबाँधलगायत भारतसँग गरिएका असमान सन्धिसम्झौताहरुको खारेजीको पक्षमा निरन्तर आवाज उठाउँदै आएको छ । क्रान्तिकारी माओवादीले मोदीको भ्रमणको विरोधमा भोली अर्थात् २९ गते शनिबार देशव्यापी रुपमा विरोध कार्यक्रम राखेको छ ।