इच्छुक पुरस्कारको घोषणा, पुरस्कारको राशी एकलाख नगद र प्रमाणपत्र

1019
views

काठमाडौँ, १ जेठ । यस वर्षको ‘इच्छुक स्मृति पुरस्कार २०७५’ चितवन टाँडीका प्रगतिवादी कवि मोदनाथ मरहट्टा र चाल्नाखेत काठमाडौं निवासी कवि विनोदविक्रम केसीलाई संयुक्त रूपमा दिइने निर्णय भएको छ ।

इच्छुक सांस्कृतिक प्रतिष्ठानको कार्य समितिको बैठकले नेपाली जनसांस्कृतिक आन्दोलनमा विगत चालीसको दशकदेखि निरन्तर क्रियाशील हुँदै कविता लेखनमा सक्रिय रहेका मरहट्ठा र नेपालको जनसांस्कृतिक आन्दोलनमा उत्पीडित वर्गको संवेदनालाई कविता र निवन्धका माध्यमबाट चित्रण गर्दै आएका चाल्नाखेत काठमाडौं निवासी कवि विनोदविक्रम केसीलाई संयुक्त रूपमा दिइने निर्णय भएको प्रतिष्ठानका सदस्यसचिव हिरामणि दुःखीले जानकारी दिएका छन् ।

त्यसैगरी साहित्यतर्फको ‘इच्छुक प्रतिभा पुरस्कार २०७५’ विगत लामो समयदेखि साहित्यलेखनमा क्रियाशील काठमाडौंकी कवि शोभा दुलाललाई दिइने भएको छ भने कलातर्फको ‘इच्छुक प्रतिभा पुरस्कार २०७५’ जनयुद्धकालदेखि गीत, संगीत साधनामा रहेकी धनकुटा हाल कालीकोट निवासी गायक पूmलमायाँ दर्जी (प्रगति हिङमाङ) लाई दिइने दुँखीले बताए ।

इच्छुक स्मृति पुरस्कारको राशी रु एक लाख नगद र प्रमाणपत्र रहेको छ भने प्रतिभा पुरस्कार जनही पच्चिस हजार र प्रमाणपत्र रहेको छ । यही जेठ १३ गते इच्छुक स्मृति दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा प्रतिष्ठानका संरक्षक चैतन्यबाट प्रदान गरिनेसदस्य सचिव दुःखीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।