गाजा क्षेत्रमा भएको झडपमा परी कम्तीमा ४३ जनाको मृत्यु

983
views

एजेन्सी इजरायल, १ जेठ । इजरायल र प्यालेस्टाइनको सिमाना गाजा क्षेत्रमा भएको झडपमा परी कम्तीमा ४३ जनाको मृत्यु भएको छ । प्यालेस्टिनी अधिकारीहरूका अनुसार इजरायली सेनाले प्रदर्शनमा हस्तक्षेप गर्दा २२ सयभन्दा धेरै घाइते भएका छन् ।

सोमबारै अमेरिकाले इजरायलस्थित दूतावासलाई तेल अभिभबाट जेरुसेलममा सारेको छ । दूतावास खोल्ने कदमलाई अमेरिकाले जेरुसेलम सहरको सम्पूर्ण भूभागमा इजरायली शासनलाई मात्रै मान्यता दिएको रूपमा बुझिएको छ । यस सहरको पूर्वी क्षेत्रमा प्यालेस्टाइनको दाबी रहँदै आएको छ ।

‘आज हामी इजरायलको त्यो अधिकारलाई विस्तार गर्दै छौँ, जसरी अन्य देशहरूको अधिकारलाई विस्तार गरेका छौँ । राजधानी चयन गर्न सक्ने अधिकारलाई,’ इजरायलका लागि अमेरिकी राजदूत डेभिड फ्राइडम्यानले सोमबार दूतावास उद्घाटनका लागि आयोजित विशेष समारोहमा भनेका छन् । समारोहमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्प तथा उनका श्रीमान् जारेद कुस्नर उपस्थित थिए । इभान्का र कुस्नर राष्ट्रपति ट्रम्पका सल्लाहकारसमेत हुन् ।

विरोध
दूतावास सार्ने निर्णयको चौतर्फी विरोध भएको छ । प्यालेस्टाइन र इजरायलको सीमा क्षेत्रस्थित १२ स्थानमा छुट्टाछुट्टै प्रदर्शन भएका छन् । ‘द ग्रेट रिटर्न मार्च’ नाम दिइएको प्रदर्शनमा ३५ सयभन्दा बढी प्यालेस्टिनी सहभागी भए ।

प्यालेस्टिनीहरूले सीमा क्षेत्रमा ढुंगा र विस्फोटक पदार्थ प्रहार गरेका छन् भने प्रत्युत्तरमा इजरायली सेनाले पनि अश्रुग्यास, गोली र जलिरहेको टायर फ्याँकेका छन् ।

हमासबाट सञ्चालित प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले यस घटनामा बालबालिकासमेत मारिएको जनाएको छ । इजरायलले प्रदर्शन सीमा सुरक्षाको नियम उल्लंघन गर्दै भएको र इजरायली समुदायमाथि आक्रमण भएको जनाएको छ ।

विरोध र खुसीयाली
प्यालेस्टिनीहरूले हप्तौँदेखि यस क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । १४ मे १९४८ मा इजरायल स्थापना भएपछि हजारौँ प्यालेस्टिनी घर छाड्न बाध्य बनेका थिए । उक्त दिनलाई कालो दिन भन्दै प्यालेस्टिनीहरूले प्रदर्शन गरेका हुन् । यता, इजरायलले यस दिनलाई भव्य रूपमा मनाएको संकेत दिन सोमबार अमेरिकी दूतावास जेरुसेलममा सारियो ।

प्यालेस्टाइनका अनुसार पुख्र्यौली थलोमा फर्कन पाउनुपर्ने माग राखेर जनता आन्दोलित भएका हुन् । उक्त भूभाग अहिले इजरायल बनिसकेको छ । ‘आज ठूलो दिन हो । जब हामीले सीमा क्षेत्र नाघेर इजरायल तथा पूरा विश्वलाई देखायौँ कि हामी कसैबाट सधैँका लागि प्रयोग हुनेछैनौँ,’ गाजास्थित एक विद्यालयका शिक्षक अलीलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।

नेतान्याहुको फैलँदो प्रभाव
जेरुसेलममा रहेका बिबिसीका मध्यपूर्व एडिटर जेरिमी बोवेनका अनुसार यो साता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको राजनीतिक करिअरमा सबैभन्दा खुशीको समय हो । पहिलो, यसै साता अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायलको शत्रु इरानसँगको आणविक सम्झौता तोडे । दोस्रो, इजरायलका लागि अमेरिकी दूतावास जेरुसेलममा सरेको छ । स्थानीयले ट्रम्पको प्रशंसा गर्दै प्लेकार्डहरू बोकेका छन् ।

स्थानीय फुटबल क्लब बेइटरले ‘डेथ टु अरब्स’ नारा लगाएको छ । अमेरिका र इजरायलको गठबन्धनमा रहेका अन्य राष्ट्रले भने दूतावास सार्ने निर्णयलाई स्विकारेका छैनन् । ‘दूतावास सार्ने निर्णय नेतान्याहुका लागि राम्रो हुन सक्छ, ट्रम्पका लागि राम्रो हुन सक्छ र धेरै इजरायलीलाई यसले खुसी पारेको हुनुपर्छ । तर, नेतान्याहुले दाबी गरेजस्तो यसले शान्ति व्यवस्थामा सुधार ल्याउँछ भन्ने कुनै प्रमाण भेटिएको छैन,’ बिबिसीका जेरिमीले भनेका छन् ।

ट्रम्पको शुभकामना
इजरायलले ७०औँ वर्षगाँठ मनाएको सन्देश दिन सोमबारै दूतावास सारिएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले दूतावास सारेको अवसरमा शुभकामना दिएका छन् । ‘इजरायलका लागि महान् दिन’ उनले ट्विटरमा लेखेका छन् । युरोपेली युनियनले दूतावास सार्ने निर्णयप्रति कडा आपत्ति जनाएको छ । प्यालेस्टिनी राष्ट्रपति महम्मद अब्बासले ट्रम्पको निर्णयलाई ‘शताब्दीको झापड’ भनेका छन् । उनले अमेरिकाले अब निष्पक्ष मध्यस्थकर्ताका रूपमा काम गर्न नसक्ने र इजरायल–प्यालेस्टाइन शान्तिवार्तामा आगामी दिनमा उसले कुनै पनि भूमिका नपाउने प्रतिक्रिया दिएका छन् ।

विवादमा जेरुसेलम
जेरुसेलम सहर इजरायल र प्यालेस्टाइन द्वन्द्वको प्रमुख स्थान हो । जेरुसेलममा इजरायलको सार्वभौमिकतालाई अन्तर्रा्ष्ट्रिय समुदायले स्वीकार गरिसकेको छैन । सन् १९९३ मा भएको इजरायल–प्यालेस्टाइन सम्झौताअनुसार यस सहरका विषयमा आगामी दिनमा शान्तिपूर्ण वार्तामार्फत समाधान निकालिने उल्लेख छ ।

इजरायलले सन् १९७६ मा भएको मध्यपूर्वको युद्धपछि पूर्वजेरुसेलममा कब्जा जमाउँदै आएको छ । त्यसयता, उसले लगातार सीमा बढाउँदै लगेको छ । यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१७ डिसेम्बरमा मान्यता दिनुबाहेक अन्य कुनै पनि देशले अहिलेसम्म उसको कदमलाई स्विकारेका छैनन् ।

सन् १९६७ पछि इजरायलले पूर्वजेरुसेलममा दुई लाखभन्दा बढी यहुदी धर्मालम्बीका लागि घर बनाइसकेको छ । कुनै समय जेरुसेलममा थुप्रै देशका दूतावास थिए, तर सन् १९८० मा इजरायलले औपचारिक रूपमा यस सहरलाई आफ्नो राजधानी घोषणा गरेपछि धेरै दूतावास अन्यत्रै सरे । गत वर्ष जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने डोनाल्ड ट्रम्पको निर्णयसँगै अमेरिकाले वर्षौंदेखि यस क्षेत्रको विवादमा देखाएको निष्पक्षता अन्त्य भएको थियो । यसले अन्तर्रा्ष्ट्रिय समुदायमै तरंग सिर्जना गरेको थियो ।