मणि विक्रम शाहः दक्षिण एसियाकै उत्कृष्ट खेलाडी

1139
views

काठमाडौं– सोमबार निधन भएका पूर्व फुटबल खेलाडी मणि शाहको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । त्यसअघि शाहको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलि दिनका लागि दशरथ रंगशालामा राखिएको थियो । लामो समयदेखि कलेजोको समस्याका कारण विरामी भएका ५१ वर्षीय शाहको नर्भिक अस्पतालमा उपचारका क्रममा सोमबार अपराह्न निधन भएको थियो। शाहको महत्वपूर्ण योगदानबाट सन् १९९३ मा बंगलादेशको ढाकामा सम्पन्न छैटौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले स्वर्ण जित्दा नेपाललाई ऐतिहासिक सफलता मिलेको थियो ।

मणि विक्रम शाहले सन् १९८५ देखि १९९८ सम्म नेपाली राष्ट्रिय टोलीबाट आवद्ध भएर फुटबल खेलेका थिए। शाह र म्याराडोनाको जर्सी नम्बर र हेयर स्टायल मिलेकोले नेपाली फूटबलप्रेमीले उनलाई नेपाली म्याराडोनाको उपमा दिएका थिए। उनले रंगशालामा म्याराडोनाकै शैलीमा आफूलाई प्रस्तुत गर्थे। सटिक पास निकाल्ने र बललाई गोलपोष्ट चुमाउने उनको विशेष खालको शैली थियो।

अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंह भन्छन्, ‘उहाँको खेल्ने स्टाइल, उहाँको जिउ, कपाल पनि म्याराडोनाकै जस्तो थियो, म उहाँभन्दा एकदमै जुनियर भएपनि हौसला दिएर तिमी राम्रो गोलकिपर बन्नुपर्छ भनेर मलाई खेल्न सिकाउनु भयो, ग्राउण्डमा उहाँ एकदमै सिरियस हुनुहुन्थ्यो, उहाँ विनिङ मेन्टालिटीको हुनुहुथ्यो, सबैलाई गाली गर्ने, विगा¥यो भने रिसाउने, आफूपनि एकदम मिहेनत गर्ने तर मैदान बाहिर चाँही उहाँ एकदम विन्दास हुनुहुन्थ्यो।’

एन्फाका पूर्वअध्यक्ष गणेश थापा मणिविक्रम शाहलाई एउटा स्किलफूल, गोल गर्न सक्ने, पास दिन सक्ने, दक्षिण एसियाकै उत्कृष्ट खेलाडी ठान्छन्। थापा भन्छन् ‘मणि शाह भन्ने वित्तिकै नेपाली फुटबलमा एउटा अत्यन्तै राम्रो खेलाडी, बच्चादेखि नै अत्यन्त ट्यालेन्ट भएको, ५÷६ वर्ष हामी सँगै खेलेउ, उस्को र मेरो कम्बिनेसन पनि असाध्यै मिल्थ्यो, जुनियर भाइको नाताले उस्लाई राम्रो सरसल्लाह दिने गरेको थिए, म नेपाली कोही खेलाडीबाट प्रभावित भएको छु भने त्यो मणि शाह हो ।’

घरेलु फुटबलमा मुख्य त उनी मनाङ मस्र्याङ्दीका खेलाडी हुन् । शाहले २०५५ सालमा तत्कालिन समयमा फुटबलको सर्वाधिक राशीको रुपक स्मृति पुरस्कार पनि प्राप्त गरे । शाहसँगै फुटबल खेल्ने पूर्व खेलाडी तथा नेपाली राष्ट्रिय टिमका पूर्व म्यानेजर विराटजङ्ग शाही मणिको क्षमतालाई यसरी सम्झिन्छन्, ‘उहाँले फ्रि किक पायो भने १०० मा ९५ प्रतिशत गोल भन्ने हुन्थ्यो, डिबक्स भित्र बल पायो भने ल गोल है भन्ने गरिन्थ्यो, अहिलेका खेलाडीमा उहाँको जस्तो फिनिसिङ मैले देखेको छैन् ।’

नेपाली म्याराडोनाको उपनामले चिनिने चर्चित नेपाली फुटबलर खेलाडी मणि शाह हामीसामु नरहे पनि उनको खेल कौशल र उनकै योगदानमा नेपालले जितेका उपलब्धीहरू अमर छन्। अलविदा मणिविक्रम शाह । नागरिक न्यूज डटकमबाट