शुल्क विरोधको प्रर्दशनमा ताहाचालमा झडप

694
views

काठमाण्डौ, १५, वैशाख । निजी विद्यालय मापदण्ड विपरति गएको भन्दै शुल्क बढी लिएको बिरुद्ध कारबाहीको माग गर्दै संयुक्त विद्यार्थी सङ्गठनले जिल्ला शिक्षा कार्यालय अगाडि गरेको विरोध प्रदर्शनका क्रममा आज झडप भएको छ ।
विद्यार्थी भर्ना गर्दा निजी विद्यालयले मापदण्ड भन्दा बढी लिइएको शुल्क सम्बन्धित अभिभावकलाई बोलाएर अविलम्ब फिर्ता गर्नुपर्ने भन्दै ताहचलमा गरिएको प्रदर्शनमा झडप हुँदा केही विद्यार्थी नेता सामान्य घाइते भएका छन् ।
ललितपुर र भक्तपुरका शिक्षा कार्यालयमा तालाबन्दी समेत गरिएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिनुभयो । उहाँले निजी शैक्षिक संस्थाले सरकारको मार्ग्निर्देशनको उल्लङ्घन गरी जथाभावी शुल्क निर्धारण गर्नु कानुन विपरीत रहेको भन्दै यसविरुद्ध सशक्त आन्दोलनका कार्यक्रम गरिने जानकारी दिनुभयो ।
सरकारले वार्ताका लागि बोलाएको भए पनि शुल्क फिर्ताको क्रम सुरु नहुँदासम्म वार्ता नबस्ने विद्यार्थी सङ्गठनले जनाएको छ । ती सङ्गठनको अघिल्लो दिन बसेको बैठकले माग पूरा गर्न दबाब दिने उद्वेश्यले देशभर विरोध प्रदर्शन तथा शुल्क लिने विद्यालय सञ्चालकलगायतलाई बहिष्कार गर्ने जस्ता निर्णय पनि गरेको थियो ।