दक्षिण कोरियासँगको उच्चस्तरीय वार्ता उत्तर कोरियाद्वारा रद्द

735
views

सिओल । बुधबारका लागि तोकिएको दक्षिण कोरियासँगको उच्चस्तरीय वार्ता उत्तर कोरियाले रद्द गरेको छ । उत्तर कोरियाली समाचार संस्था केसिएनएका अनुसार दक्षिण कोरियाले अमेरिकासँग गरेको संयुक्त सैन्य अभ्यासप्रति रुष्ट हुँदै उत्तर कोरियाले वार्तामा नबस्ने निर्णय गरेको हो ।

दुई देशबीचको सैन्य अभ्यास उत्तेजना फैलाउन उद्दत रहेको आरोप लगाउँदै उत्तरले ‘आक्रमणका लागि एक अभ्यास’ भएको टिप्पणी गरेको छ ।

आगामी जुन १२ का लागि सिंगापुरमा बस्नेगरि तोकिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका प्रमुख नेता किम जोङ उनबीचको वार्ताको भविष्यका सन्दर्भमा समेत उसले अमेरिकालाई चेतावनी दिएको केसिएनएले लेखेको छ ।

गत मार्चमा उत्तर कोरियाले नै भेटवार्ताका लागि ट्रम्पलाई निमन्त्रणा पठाएको थियो र त्यसलाई ट्रम्पले स्किारेका थिए। राष्ट्रपति ट्रम्पले पछिल्लो ट्विटमा लेखेका छन्,‘विश्व शान्तीका लागि हामी त्यो क्षणलाई अति नै महत्वपूर्ण बनाउन दुवै जनाले प्रयास गर्नेछौँ ।’

उता ट्रम्प प्रशासनले भने शिखर बैठकको तयारी चलिरहेको र हालसम्म उत्तरको तर्फबाट बैठकलाई लिएर कुनै पनि परिवर्तनको सूचना नआएको जनाएको छ ।

आजका लागि बोलाइएको सो बैठक गत अप्रिल २७ मा उत्तर नेता किम तथा दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनबीच भएको शिखर बैठकपछिको मन्त्रीस्तरीय बैठक थियो । दुवै प्रमुख नेताले शिखर बैठकका क्रममा गरेको शान्ती सम्झौताको कार्यान्वयन तथा यसैसँग सम्बन्धित बाँकी विषयवस्तुको विस्तृत छलफलका लागि भन्दै बैठक तोकिएको थियो ।

शिखर बैठकमा कोरियाली प्रायद्धिपलाई परमाणु निशस्त्रिकरण क्षेत्र घोषणा गर्दै सन् १९५३ मा युद्धविराम भएर रोकिएको कोरियाली युद्धको वृहत शान्ती सन्धी गर्ने सहमती भएको थियो । जसका लागि अमेरिका र चीन संलग्न हुनेगरि ३ देखि ४ चरणको वार्ता गर्न दुवै राष्ट्रप्रमुख एकमत भएका थिए ।

यसअघि पनि दक्षिण कोरिया र अमेरिकाबीच हुने गरेका सैन्य अभ्यासलाई लिएर उत्तर कोरियाले आफ्नो रुष्ट अभिव्यक्ति दिँदै आएको थियो । उसले संयुक्त सैन्य अभ्यासले दुई कोरियाबीच बिग्रिदैँ गएको सम्बन्धमा ‘आगोमा पेट्रोल राखिदिएको’जस्तो काम गरेको टिप्पणी गर्ने गरेको थियो ।

‘म्याक्स थन्डर’ नाम दिइएको पछिल्लो सैन्य अभ्यासमा १ सयभन्दा बढी युद्धक विमान, ठूलो संख्यामा बी–५२ बम्बर, एफ–१५ के जेट तथा हजारौँको संख्यामा सैनिकहरुको सहभागीता रहेको बताइएको छ ।

उत्तर कोरियाले युद्धको तयारीको रुपमा वर्णन गरेपनि दक्षिण कोरियाले भने संयुक्त सैन्य अभ्यास सन् १९५३ मा अमेरिकासँग भएको सन्धीका आधारमा आफ्नो सुरक्षाका लागि मात्रै भएको दावी गर्दै आएको छ । उसले बाहिरी हमला भइहालेको खण्डमा प्रत्याक्रमणका लागि आफ्नो शक्तिलाई थप मजबुत बनाउन पनि यस्तो अभ्यास आवश्यक रहेको बताउँदै आएको छ ।

दुई कोरियाको आज बस्ने भनिएको वार्ता रद्द हुनुले बहुप्रतिक्षित ट्रम्प–किम शिखर वार्ताको भविष्यलाई लिएर पनि आशंका उब्जिन थालेको छ ।