जहाज दुर्घटनामा दुबै पाइलटको मृत्यु

638
views

सुर्खेत, २ जेठ । मकालु एयरको नाइन एन जेयु जहाजका पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपालीको जहाज दुर्घटनामा मृत्यु भएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका डीएसपी बीरबहादुर वलीले पाइलट भट्टराई र कोपाइलट नेपालीको ज्यान गएको बताए । उनका अनुसार पाइलट किरण भट्टराई र आदित्य नेपाल दुवैको घटनास्थलमै शव फेला परेको छ । मृतकको शव हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको छ ।

बुधबार बिहान हुम्लाका लागि उडेको मकालु एयरको विमान हुम्लाको खार्पूनाथ गाउँपालिका २ को राया र थाली भन्ने ठाउँको बीचमा रहेको लामाडाँडामाथिको बाहु्नखर्कमा दुर्घटनाग्रस्त भएको हो । बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको जहाज बाजुराको क्षेत्रबाट सम्र्पकविहिन भएको थियो ।