चितवनमा दुर्लभ एकसिंगे गैँडा मर्ने क्रम रोकिएन

1185
views

प्रकाश सापकोटा
चितवन, २, जेठ । चितवनमा दुर्लभ एकसिंगे गैँडा मर्ने क्रम अझै रोकिएको छैन् । चोरी शिकारीबाट गैंडा नमरेपनि कालगतिले मर्ने क्रम बढ्दो छ । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सौराहास्थित ढुंग्रे खोलामा फेरी एक गैँडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले सौराहाको ढुंग्रे खोलामा मृत फेला परेको गैँडा बुढो भएर मरेको जनाए ।

उक्त गैंडाको उमेर करीब ३५ वर्षको अनुमान रहेको छ । गैँडा खोलाको पानीमा मृत अवस्थामा फेला परेको निकुञ्जका पूर्वी सेक्टर प्रमुख अभिनय पाठकले जानकारी दिए ।

गैंडाको खाग र खुर सुरक्षित रहेको र मृत गैँडालाई परीक्षण गरी गाडिएको छ । यो चालु आर्थिक वर्षको अहिलेसम्म कालगतिले २४ वटा गैँडा मरिसकेका छन् । अघिल्लो आर्थिक वर्षमा कालगतिले २५ गैँडा मरेका थिए ।

विश्वमै दुर्लभ मानिएको एकसिंगे गैँडा प्राकृतिक बासस्थानमा नेपाल र भारतमा मात्रै पाइन्छ । नेपालमा गैँडाको मुख्य बासस्थान भने चितवन राष्ट्रिय निकुञ्ज हो । यहाँ पछिल्लो अनुगमनमा ६०५ गैँडा भेटिएको तथ्यांक छ ।