भड्कियो उत्तर कोरिया शिखर वार्ता भंग गर्ने चेतावनी

731
views

एजेन्सी प्योङयाङ, ३ जेठ । उत्तर कोरियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको प्रस्तावित शिखर वार्ताबाट बाहिरिने चेतावनी दिएको छ । उत्तर कोरियाका सहायक विदेशमन्त्री किम काय ग्वानले अमेरिकाले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको आरोप लगाउँदै वार्ताबाट बाहिरिने चेतावनी दिएका हुन् । उनले अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको आलोचना गरेका छन् । उत्तर कोरियाको पछिल्लो धारणाले निशस्त्रीकरणसम्बन्धी सम्झौताको आधार भत्काएको र बहुप्रतीक्षित ट्रम्प–किम वार्तालाई आशंकित बनाएको छ ।

उत्तरको सकारात्मक पहल
अमेरिकासँगको वार्ताको वातावरण सहज बनाउन उत्तर कोरियाले आफ्नो तर्फबाट सकारात्मक कदम चालेको विज्ञहरूले बताएका छन् । प्योङयाङले आफ्ना विवादास्पद मिसाइल परीक्षण बन्द गर्दै आगामी दिनमा कुनै पनि परीक्षण नगर्ने प्रतिबद्धता व्यक्त गरेको छ । उसले दक्षिण कोरियासँग निशस्त्रीकरणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । त्यस्तै, वार्ताकै पूर्वसन्ध्यामा उत्तरले केही दिनअघि प्योङयाङले बन्धक बनाएका तीन अमेरिकीलाई रिहा गरेको छ । तर, अमेरिकाले उत्तरले आणविक गतिविधिलाई पूर्ण रूपमा त्यागे मात्र उसलाई आर्थिक सहयोग गर्ने वचन दिएको छ ।

दक्षिणसँगको वार्ता रद्द
उत्तर कोरियाले दक्षिण कोरियासँगको उच्च तहको वार्ता स्थगित गरेको छ । उत्तर र दक्षिण कोरियाबीच बुधबार हुने भनिएको मन्त्रीस्तरीय वार्ता प्योङयाङले अचानक स्थगित गरेको हो । शान्तिवार्ताका बाबजुद पनि दक्षिणले अमेरिकासँग संयुक्त सैन्य अभ्यास नरोकेको र शान्ति पक्रियाप्रति गम्भीर नभएको उत्तरले आरोप लगाएको छ । शान्तिवार्ता भइरहेका वेला दक्षिण कोरिया र अमेरिकाबीचको सैन्य अभ्यास उत्तेजक र अतिक्रमण भएको उत्तर कोरियाली समाचार संस्था केसिएनएले जनाएको छ ।

२७ मार्चमा उत्तर र दक्षिण कोरियाबीच शीर्ष तहमा वार्ता भएको थियो । सीमावर्ती पानमुनजोम गाउँमा भएको वार्तापछि उत्तर र दक्षिण कोरियाबीच ६५ वर्ष लामो युद्ध अन्त्य भएको घोषणा गरिएको थियो । वार्तामा उत्तरका किम जोङ उन र दक्षिणका राष्ट्रपति मुन जाय इनको सहभागिता थियो । पानमुनजोम वार्तामा भएका सहमतिको समीक्षा र थप कार्यान्वयनका लागि बुधबार मन्त्रीस्तरमा दुई कोरियाबीच वार्ता तय गरिएको थियो । ऐतिहासिक सम्मेलनमा भएका सम्झौताका विवरणलाई विस्तृत छलफल गर्न दुवै देशका प्रतिनिधिहरूले तयारी गरेका थिए । सम्झौतापछि उत्तर कोरियाले आफ्ना आणविक भट्टी भत्काएको र सो विषयको अनुगमन गर्न उसले अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यहरूलाई डाक्ने तयारी गरेको थियो ।

अमेरिकासँगको वार्ता अनिश्चित
प्योङयाङको पछिल्लो प्रतिक्रियासँगै अमेरिकासँग उत्तर कोरियाको यही १२ जुनमा सिंगापुरमा तय गरिएको प्रस्तावित शिखर वार्ताप्रति आशंका उब्जिएको छ । उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको वार्तालाई सम्पूर्ण विश्व समुदायले नै प्रतीक्षा गरिरहेको छ । यसै साता ट्रम्पले उत्तरसँगको वार्तास्थल र मिति सार्वजनिक गरेका थिए । उत्तर कोरियाली नेता किम जोङ उनसँगको वार्ता प्रस्तावलाई स्वीकार गरेर मार्चमा ट्रम्पले विश्व समुदायलाई नै चकित पारेका थिए । अहिलेसम्म कुनै पनि बहालवाला अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली नेतासँग भेट गरेको छैन । तोकिएको समयमा वार्ता भएमा ट्रम्प अमेरिकी इतिहासमा उत्तर कोरियाली नेतासँग वार्ता गर्ने पहिलो राष्ट्रपति हुनेछन् ।

के भन्छ उत्तर कोरिया ?
उत्तर कोरियाली समाचार संस्था केसिएनएद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अमेरिका हामीलाई अझै कुनामा धकेल्छ र एकतर्फी रूपमा आणविक हतियार त्याग्न माग गर्छ भने हाम्रो वार्ताप्रति कुनै रुचि छैन र १२ जुनमा हुने शिखर सम्मेलनमा हाम्रो सहभागिताबारे पुनर्विचार हुन सक्छ ।’ शिखर सम्मेलनप्रति आफ्नो आशा कायमै रहेको पनि उत्तरले जनाएको छ । ‘शीर्ष सम्मेलनप्रति उत्तर कोरियाको आशा मरिसकेको छैन, तर दुर्भाग्यवश अमेरिकाले सम्मेलनअघि हास्यास्पद अभिव्यक्ति दिएर हामीलाई भड्काउन खोजिरहेको छ । किम काय ग्वान उत्तर कोरियाली नेतृत्वमा उच्च सम्मानित नेता हुन् । उनी यसअघि पनि अमेरिकासँगको वार्तामा सहभागी थिए । उनका अभिव्यक्ति व्यक्तिगत नभएर सिंगो पार्टीपंक्तिको भएको बताइएको छ ।

किन भड्कियो उत्तर कोरिया ?
दक्षिण कोरिया र अमेरिकाबीचको संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरिया बारम्बार आक्रोशित हुने गरेको छ । अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्वीपमा विगत केही वर्षदेखि संयुक्त सैन्य अभ्यास गरिरहेका छन् । विगतमा पनि ती अभ्यासप्रति उत्तर कोरियाले दुवै देशलाई ठूलो चेतावनी मात्रै होइन, क्षेप्यास्त्र परीक्षण गरेरै जवाफ दिने गथ्र्यो । दक्षिण र अमेरिकाबीचको पछिल्लो अभ्यासलाई म्याक्स थन्डर नाम दिइएको छ । अभ्यासमा बी ५२ बम्बर र एफ १५ जेटसहित एक सयवटा युद्धक विमान परिचालन गरिएको छ । उत्तरले अमेरिकाका पछिल्ला गतिविधिलाई उक्साहट भन्दै प्योङयाङमाथिको अतिक्रमण गर्ने बहानाबाजी बताएको छ ।

तर, अमेरिका र दक्षिण कोरियाले सो सैन्य अभ्यासको उद्देश्य रक्षात्मक भएकोमा जोड दिँदै आएका छन् । सन् १९५३ मा हस्ताक्षर गरेको पारस्परिक रक्षा सम्झौताबमोजिम अभ्यास गरिएको दुवै देशको दाबी छ । बाह्य हमला भएको खण्डमा पूर्वतयारीस्वरूप सैन्य अभ्यास गर्नुपरेको पनि ती राष्ट्रको भनाइ छ ।