अनुदानको कुटनी-पिसनी मिलमा बढी मुल्य

नगरपालिका र जोन ईकाईले वितरण गरेको प्रतिमिलमा चारहजारको फरक

2004
views

पर्वत । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगतको मकै जोन परियोजना मुडिकुवाले अनुदानमा वितरण गरेको कुटनी पिसनी मिल नगरपालिकाले वितरण गरेको मिलको मुल्य भन्दा महंगो पर्न गएको किसानहरुले बताएका छन् ।

फलेवास नगरपालिकाले ११ वटा कुटनी पिसनी मिलको प्रतिमिल पचास प्रतिशत अनुदानमा वितरण गर्दा १९ हजार रुपैयाँमा वितरण गरेको थियो भने जोन ईकाई कार्यालयले वितरण गरेको २१ वटा मिलको प्रतिमिल पचास प्रतिशत अनुदानमा वितरण गर्दा २३ हजार रुपैयाँ लिएको थियो ।

नगरपालिकाले वितरण गरेको मिलको मुल्य भन्दा मकै जोन ईकाई कार्यालय मुडिकुवाले वितरण गरेको प्रतिमिलको मुल्यमा चारहजार रुपैयाँ बढी पर्न गएको मुडिकुवा–४ का कृषक नारायण शर्मा सापकोटाले बताए ।

जोन क्षेत्रका कृषकहरुलाई वितरण गरिएको कुटनी पिसनी मिलमा प्रति मिलको ४६ हजार मुल्यमा कृषकलाई अनुदानमा दिदाँ २३ हजार रुपैयाँ पर्न गएको जोन ईकाई कार्यालयका सूचना अधिकारी हेम शर्मा तिवारीको भनाई छ ।

यता फलेवास नगरपालिकाले नगरपालिका भित्रका किसानलाई कृषि यान्त्रिकीकरण एवं औजार वितरण कार्यक्रम अन्र्तगत ३८ हजार मुल्यमा कृषकलाई ५० प्रतिशत अनुदानमा वितरण गर्दा प्रति किसानलाई प्रतिमिल १९ हजार रुपैयाँमा ११ वटा मिल वितरण गरेको फलेवास नगरपालिका कृषि शाखाका अधिकृत नारायण पौडेलले बताए ।

नगरपािलका र मकै जोन ईकाई कार्यालयले खरीद गरेको एउटै कम्पनी जिएमसी कम्पनीको मिलको मुल्यमा फरक पर्न गएपछि किसानहरुले मर्कामा परेको बताएका हुन् । किसानहरुले नगरपालिकाले अनुदानमा वितरण गरेको मिल र जोन कार्यालयले वितरण गरेको मिलमा जोन ईकाईले वितरण गरेको प्रतिमिलमा चारहजार रुपैयाँ बढी पर्न गएको गुनासो गरेका छन् ।

मकै जोन इकाई कार्यालयबाट वितरण भएको अनुदानमा विभेद भएको किसानको गुनासो आएको तर वितरण गर्दा जनप्रतिनीधिसँग समन्वय नै नभएको मुडिकुवा–४ का वडा अध्यक्ष टिकाराम गौंडेलले बताए ।

मकैजोन ईकाईले कृषकलाई वितरण गरेको अनुदानमा विभेद भएपछि कृषकको गुनासो आएको र त्यसलाई राम्रोसँग छलफल गरिने फलेवास नगरपालिकाका मेयर पदमपाणी शर्माले बताएका छन् ।

फलेवास नगरपालिकाका ६ वटा वडा थापाथाना, शंकरपोखरी मुडिकुवा खानीगाउँ, ठानामौला, लिमिठानाका किसानलाई समेटेर उक्त कुटनी पिसनी मिल वितरण गरिएको थियो ।