चेन्नई पाँच विकेटले विजयी

870
views

काठमाडौँ । इण्डियन प्रिमियर लिगमा चेन्नई सुपरकिंग्सले किंग्स इलेभेल पञ्जाबविरुद्ध जित हासिल गरेको छ। हारसँगै प्लेअफमा पुग्ने पञ्जाबको सम्भावना सकिएको छ। आइतबार राति भएको खेलमा पञ्जाबलाई ५ विकेटले हराउँदै चेन्नई विजयी भएको हो। पञ्जाबले दिएको १५४ रनको लक्ष्य चेन्नईले ५ बल अगावै पूरा गर्यो ।

चेन्नईको लागि सुरेश रैनाले सर्वाधिक ६१ रन बनाए भने दिपक चाहले ३९ रन बनाए। पञ्जाबका लागि अंकित राजपुत र रविचन्द्रण आश्विनले दुई दुई विकेट लिए ।

यसअघि महाराष्ट्र क्रिकेट एशोसियसन स्टेडियममा टस हारेर व्याटिङको निम्तो पाएको पञ्जाब १९।४ ओभरमा सबै विकेट गुमाउँदै १५३ रनमा समेटियो। प्लेअफमा प्रवेशको लक्ष्यसहित मैदानमा उत्रिएको पञ्जाबको व्याटिङ चेन्नईविरुद्ध खराब रह्यो।

करुण नायरले २६ बलमा ३ चौका र ५ छक्कासहित ५४ रन, मनोज तिवारीले ३ चौका र १ छक्कासहित ३५ तथा डेभिड मिल्लर २४ र अक्षर पटेलले १४ रन बनाउनु बाहेक पञ्जाबका अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। आश गरिएका केएल राहुल ७ तथा क्रिश गेल शून्यमा आउट भए। बलिङतर्फ लुंगी नगिदीले पञ्जाबका ४ विकेट लिए ।