‘सिन्डिकेट, भ्रष्ट, तस्कर, कालोबजारिया र गुण्डागर्दी अन्त्य गरेरै छाड्छुु–वादल

1349
views

गृहमन्त्री रामबाहादुर थापा यसपटक कडा रुपमा प्रस्तुत भएका छन् । यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गर्न सफल भएपछि चर्चा र प्रशंसा बटुलेका मन्त्री थापाले देशभित्र रहेका सबैखाले सिन्डिकेट र विकृतिको अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । थापासँग समसामयिक विषयमा गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।


-दुई दल मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेकोमा सबै नेताहरु सन्तुष्ट छन् ?
सबै नेताहरु खुशी छन् । एकता घोषणा भएपछि नेता, कार्यकर्ता पनि एक भएका छन् ।

पार्टी एकतापछि प्रचण्ड र केपी ओलीको मात्रै भुमिका देखियो । अरु नेताहरु भूमिकाविहिन भएका हुन् ?
नयाँ पार्टीको केन्द्रिय समिति ४ सय ४१ जनाको बन्दैछ । केन्द्रिय समिति सदस्य संख्याले नै सबै नेताको भूमिका स्पष्ट गर्छ ।

शीर्ष तहका नेताहरुलाई त थप जिम्मेवारी दिनुपर्ला नि । उनीहरुको जिम्मेवारी र व्यवस्थापन कसरी हुन्छ ?
नेताहरुलाई भूमिका दिएर नै व्यवस्थापन गर्ने हो । सबैलाई तहगत रुपमा जिम्मेवारी प्रदान गर्नुपर्छ ।

विमानचालकको रुपमा ओली र प्रचण्ड देखिनुभएको छ । दुईजनाले विमानलाई गन्तव्यमा पुर्याउन सक्छन् ?
अहिलेसम्मको परिणामले नै उहाँहरुले लक्ष्य भेटाउन सक्नुहुन्छ भन्ने पुष्टी गरेको छ ।

ओली र प्रचण्डबीचको केमेष्ट्री मिलेको हो ?
एउटै पार्टीमा दुईजना सहअध्यक्ष बनेर बस्नुभएको छ । यसले त केमेष्ट्री मिलेकै देखिन्छ । आलोपालो रुपमा बैठकको अध्यक्षता गर्ने सहमति भएको छ । उहाँहरुबीचमा सहमति हुनु नै केमेष्ट्री मिल्नु हो ।

विगतमा एक अर्काप्रति आरोप प्रत्यारोप गर्ने प्रचण्ड र ओली कसरी मिले ?
विगतमा दुईवटा धारहरुको बीचमा संघर्ष थिए । पार्टी फरक हुँदासम्म अन्तरसंघर्ष हुन्छ । वैचारिक संघर्ष भइरहन्छ । संघर्षले नै एकताको बाटोमा ल्याएको हो ।

पार्टी एकता त भयो । तर राजनीतिक रुपमा धेरै विवाद त बाँकी नै छ नि ?
वैचारिक र राजनीतिक रुपमा सहमति भएकाले नै पार्टी एकता भएको हो । यद्यपी केही विषयहरुमा बहस हुन सक्छ । जुन विषयमा सहमति भएको छैन, त्यसलाई छलफल गर्दै जाने र नयाँ संश्लेषण गर्ने हो ।

तपाईहरुले माओवाद छोडेर जनताको बहुदलिय जनवादलाई स्विकार गरेर एकता गर्नुभएको हो रु
अहिले माओवाद, जनताको बहुदलीय जनवाद वा २१औँ शताब्दीको माओवादबीचमा अन्तर देखिएको छ । यि सबै कुरालाई नयाँ संश्लेषण गर्ने हो । हामीले वा पूर्व एमालेले केही छोडेको छैन । छलफल गर्दै जाने विषयमा सहमित भएको छ ।

तर एमालेको रणनीतिअनुसार नै माओवादी विलय भयो भन्ने टिप्पणी छ नि ?
कुनै पनि घटनाले कुनै दल विलय भएको पुष्टी गर्दैन । दुई दल विघटन भएर नयाँ पार्टी भएको हो ।

एकतापछि पार्टीभित्रको तपाईको प्रभावकारी भूमिका देखिएन नि ?
नौ सदस्यीय सचिवालय सदस्य छु । अहिलेका लागि यही नै महत्वपूर्ण भूमिका हो । भोलीका दिनमा स्थायी किसिमको संरचना बन्छ ।

विष्णु पौडेललाई महासचिव बनाइएको छ । उक्त पदको लागि तपाई योग्य हुनुहुन्न ?
विष्णु पौडेलले महत्वपूर्ण पद पाउनुभएको छ । हिजो पनि उहाँको पनि महत्वपूर्ण भूमिका थियो । उहाँले पाएको नयाँ भूमिकालाई अरुसँग तुलना गर्नु हुँदैन ।

पार्टी एकता हुँदा महिलाहरुलाई भूमिकाविहिन बनाइयो नि । समावेशी किन भएन ?
अहिले नभए पनि भविष्यमा समावेशी बनाउँछौँ ।

तपाईहरुको एकता कति बलियो छ ?
अब फुटाउन सम्भव छैन । पार्टीभित्र मतभेद हुन सक्छ । तर कसैले पनि फुटाएर राज गर्ने सपना नदेखे हुन्छ । बाहिर रहेका कम्युनिष्ट धारका पार्टीलाई पनि एकतावद्ध गर्ने प्रयासमा छौँ । सबैलाई एकतावद्ध हुन आव्हान गर्न चाहन्छु ।

तपाईकै मित्र नेत्रविक्रम चन्द त अझै पनि युद्ध र हतियारको कुरा गरिरहनुभएको छ । कसरी मिलाउनुहुन्छ रु
उहाँले लिएको बाटो गलत भनिरहेका छौँ । बेठीक काम नगर्नुस भनेर आग्रह गरिरहेका छौँ । उहाँलाई पनि हामीले एकतामा आउन आग्रह गरेका छौँ । आउने नआउने उहाँको ईच्छा र सोचको कुरा हो ।

उहाँले शसस्त्र द्धन्द्धको बाटो लिनुभयो भने तपाई गृहमन्त्रीका नाताले के गर्नुहुन्छ ?
राज्यको विरुद्ध आउने वा कानुनको उल्लङ्घन गर्नेलाई सरकारले कारबाही गर्छ । कानुन मिच्नेलाई राज्यले छुट दिन सक्दैन ।

राजनीतिक रुपमा समाधानको उपाय छैन ?
हामीले एकातिरबाट राजनीतिक रुपमा हल गर्ने प्रयत्न हुन्छ । अर्कोतिर राज्यको कानुन र प्रशासनअनुसार नियन्त्रण गर्ने र कदम उठाउनुपर्ने हुन्छ । राजनीतिक रुपमा समस्याका समाधान गर्ने प्रयास र कानुनी कारबाही एकसाथ भइरहेको छ ।

युद्धमा जानुभयो भने वार्ता कि दमन ?
राज्यले आराज्यले आफ्नो दायित्व पूरा गर्छ । कानुन मिच्नेलाई कारबाही गर्ने गृहमन्त्रीको कर्तव्य हो । तर राजनीतिक रुपमा पनि हल गर्ने प्रयास हुन्छ ।

विकास र समृद्धिका लागि धेरै कुराहरु बाधकको रुपमा देखिएका छन् । त्यस्ता बाधकलाई कसरी हटाउनुहुन्छ ?
विकास र समृद्धिको मार्गमा जो ठेकेदारहरु, भ्रष्ट, तस्कर, कालोबजारीहरु अगाडि आउँछन्, त्यसलाई सरकारले जरैदेखि उखेल्छ । देशको विकास र समृद्धि चाहकै हो भने यस्ता विकृतिको अन्त्य गर्नैपर्छ । भ्रष्टचारको उन्मुलन गर्नु अपरिहार्य छ ।

भ्रष्ट, तस्कर, कालोबजारिया, गुण्डा जस्ता बाधकको सम्बन्ध नै नेताहरुसँग छ । यस्तो संजाल तोड्न सक्नुहुन्छ ?
विकृतिको संजाल भत्काएर भताभुङ् पार्ने अभियान सुरु भइसकेको छ । चाहे राजनीतिक नेता होस्, चाहे कुनै पनि आवरणमा बसेका पात्र होस्, त्यस्तालाई सरकारले छोडद्ैन । यो अभियान भनेको भ्रष्ट, तस्कर, कालोबजारिया, गुण्डाको संरक्षकको अन्त्य गर्ने अभियान हो । जनताको साथ र समर्थनबाट सबै विकृति तोड्न सकिन्छ ।

भ्रष्टाचारी र तस्करको राजनीतिक दलसँगको साँठगाँठका कारण संगठन मजबुत छ । कसरी तोड्न सक्नुहुन्छ ?
राष्ट्रको विकास र समृद्धि चाहनेको संख्या धेरै छ । आम जनताको समर्थन छ । पार्टी पनि प्रतिबद्ध छ । सरकार शुन्य सहनशीलताको नीतिमा छ । त्यसकारण सबै विकृति रोक्न सकिन्छ । अप्ठ्यारा र चुनौतिलाई यो सरकार र पार्टीले स्विकार गरेको छ । हामी आतंकित छैनौँ । विगतमा जे भयो भयो । विगतको जस्तो परिस्थिती अहिले छैन ।

सामाजिक विकृति रोक्नका लागि के गर्दै हुनुहुन्छ  ?
समाजका भएका सबै कुरीति तोड्न सकिन्छ भन्ने विश्वास लिएर काम गरिरहेको छु । समाज रुपान्तरणका लागि ऐनहरु संशोधन गर्दैछौँ । अन्धविश्वास, कूरीतिलाई कानुनी रुपमै उन्मुलन गर्ने सोच लिएका छौँ ।

तपाईले यातायात क्षेत्रको सिन्डिकेट तोड्नुभयो । तर सुन तस्करलाई कारबाही गर्न चुक्नुभएको हो ?
अहिले गृहमन्त्री चुक्ने र नचुक्ने भन्ने प्रश्न होइन । सुन तस्करलाई कारबाही गर्नका लागि पनि गृहमन्त्रीले कदम उठाइरहेको छ । प्रक्रिया अगाडि बढिरहेको छ । अनुसन्धान भइरहेको छ ।

३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डको छानबिन के भइरहेको छ ?
अनुसन्धानको प्रक्रियामा छ । यस घटनामा कुनै राजनीतिक दलका नेता नै संलग्न छन् भने पनि कानुनी कारबाही गर्छु ।

नेपाल प्रहरीका उच्च अधिकारी र ठूला नेताहरु पनि संलग्न भएको आशंका गरिएको छ । कारबाही गर्न सक्नुहुन्छ ?
अहिले अनुसन्धानको क्रममा छ । यदी कोही दोषी ठहरिए भने कसैले पनि छुट पाउँदैन ।

लहरो तान्दा पहरो थर्किने हो कि ?
हुन सक्छ । लहरो तान्दा पहरो थर्किन्छ भने पनि हामी तस्करको अन्त्य गरेरै छाड्छौँ । सुन तस्करहरुको मात्रै होइन, सबैखाले गैर कानुनी र अपराधको संजाल अन्त्य गर्छौँ । यो अन्र्तवार्ता रिपोर्टर्स नेपाल डटकमबाट साभार गरिएको हो ।