नुहाउने क्रममा डुबेर चार बालिकाको मृत्यु

1033
views

प्रकाश सापकोटा
चितवन । रुपन्देहीको लुम्बिनी साँकृतिक नगरपालिका–११, मसिना–गडिदियास्थित नौखनिया पोखरीमा नुहाउने क्रममा डुबेर चारजना बालिकाको मृत्यु भएको छ ।

सोमबार दिनको साढे ११ बजेतिर नुहाउन पोखरीमा पुगेका उनीहरु पौडिन नसक्दा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।

इप्रका लुम्बिनीका प्रमुख एवं प्रहरी निरीक्षक पुरुषोत्तम रावत क्षत्रीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा स्थानीय ९ वर्षीया अविदा खातुन, १० वर्षीया साहिमा खातुन, मुदिना खातुन र १४ वर्षीया साहिया खातुन रहेका छन् ।

बालिका डुबेको स्थान लुम्बिनीदेखि झन्डै चार किलोमिटर पश्चिम तथा स्थानीय गाउँदेखि एक किलोमिटर टाढा रहेको छ ।

वडा नम्बर–११ का अध्यक्ष अकरामद्धिन खाँनले पोखरीमा बालिकाहरु डुबेको देखेपछि स्थानीय र प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनीहरुलाई पोखरीबाट निकालेको थियो ।

उक्त पोखरी प्राकृतिक पोखरीकारुपमा रहेको र त्यस वरपर रहेका बालबालिका अरु समयमा पनि नुहाउन जाने गरेको स्थानीयले बताएका छन् ।

उनीहरुको मृत्युपछि लुम्बिनीको मसिना गाउँ शोकमा डुबेको छ । मृतक बालिकाहरुको शवलाई पोस्टमार्टमका लागि भैरहवा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । मृतक बालिकामध्ये दुईजना दाजुभाइका छोरी रहेको बुझिएको छ ।