पुटिन र मोदीबीच अनौपचारिक वार्ताः आर्थिक साझेदारी र सैन्य सहकार्य साझा मुद्दा

436
views

एजेन्सी, ८ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा सोमबार रुसको सोची पुगेका छन् । एकदिने भ्रमणमा गएका मोदीले स्थानीय समयअनुसार १ बजे पुटिनसँग लन्च गरे । त्यसपछि उनीहरूबीच अनौपचारिक वार्ता भयो । चौथो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएको दुई हप्ता नबित्दै पुटिनले मोदीलाई छलफलका लागि बोलाएका हुन् । प्रधानमन्त्रीका रूपमा मोदीको यो चौथो रुस भ्रमण हो । यसअघि सन् २०१५ मा दुईपटक तथा गत वर्ष एकपटक मोदी रुस गएका थिए ।

दुई महिनाअघि मात्रै मोदी चीनको अनौपचारिक भ्रमणमा गएका थिए । २७ अप्रिलदेखि २८ अप्रिलसम्म गरिएको भ्रमणका क्रममा उनले उहान सहरमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका थिए । भेटका क्रममा दुवै देशबीच सम्बन्ध सुधारका विषयमा महत्वपूर्ण समझदारी बने पनि औपचारिक सम्झौता भएन । भारतीय विदेश मामिलाका जानकार रहिस सिंहले एसियाका तीन ठूला शक्तिशाली राष्ट्रबीचको घट्दो दूरीले विश्व राजनीतिमा ठूलो अर्थ राख्ने बताएका छन् ।

यी मुद्दामा छलफल
अमेरिकाले रुसमाथि धेरैखाले प्रतिबन्ध लगाएको छ । गत वर्ष अमेरिकी संसद्बाट पारित सिएएटिएसए विधेयक जनवरीबाट कार्यान्वयनमा आइसकेको छ । यस विधेयकअनुसार रुस, इरान र उत्तर कोरियासँग ठूला हतियार खरिद गर्ने तथा जासुसी सम्बन्ध राख्ने राष्ट्रमाथि अमेरिकाले नाकाबन्दी लगाउनेछ । भारतले सोभियतकालदेखि नै रुससँग सैन्य सहकार्य गर्दै आएको छ र अहिले पनि भारत रुसी हतियारको सबैभन्दा ठूलो बजार हो । रुससँगको आफ्नो सैन्य सम्बन्धका विषयमा तेस्रो राष्ट्रको हस्तक्षेप मान्य नहुने भारतले स्पष्ट पारिसकेको छ । भारतले रुसबाट ६८ प्रतिशत हतियार आयात गर्छ । रुससँग झन्डै ४० हजार करोड भारुमा एस ४०० मिसाइल सिस्टम खरिद गर्न भारतले प्रक्रिया अघि बढाउन चाहेको छ । यस सिस्टमले ४ सय किलोमिटर दूरीबाट आउने एयरक्र्याफ्ट, मिसाइल र ड्रोन नष्ट गर्ने क्षमता राख्छ । त्यस्तै, एकैसाथ तीन प्रकारका मिसाइल फायर गर्न सक्छ । यस्तो अवस्थामा भारत र रुसबीचको व्यापार तथा सैन्य सम्झौता एवं अमेरिकी निर्णयले दुई देशलाई पर्न सक्ने सम्भावित असरका विषयमा पुटिन र मोदीबीच वार्ता भएको छ ।

विदेश मामिलाका जानकार रहिस सिंह सिएएटिएसए विधेयक, रुसमाथिको अमेरिकी नाकाबन्दी, इरानसँगको आणविक सम्झौताबाट बाहिरिने अमेरिकी कदम, अमेरिका र चीनसहित क्षेत्रीय तथा अन्तर्रा्ष्ट्रिय मामिला हेर्ने साझा दृष्टिकोण दुई देशबीचको छलफलका प्रमुख मुद्दा रहेको बताउँछन् । अमेरिका र चीनपछि भारत ग्यास तथा पेट्रोलियम पदार्थको तेस्रो ठूलो आयातकर्ता हो । सबैभन्दा धेरै तेल भारतले इरानबाट आयात गर्छ । त्यसैले इरानसँगको आणविक सम्झौता तोड्दै नाकाबन्दी लगाउने अमेरिकी कदमको असर भारतमा पनि देखिएको छ । अफगानिस्तान र सिरियामा बढ्दो आतंकवाद पनि दुवै देशका लागि टाउकोदुखाइको विषय हो । किनकि, भारत र रुस दुवैले लामो समयदेखि आतंकवादविरुद्ध लड्दै आएका छन् ।

आर्थिक साझेदारीलाई दुवै देशले प्राथमिकतामा राखेका छन् । सन् २०१४ को तुलनामा पछिल्लो वर्ष भारत र रुसबीच आर्थिक कारोबारमा ठूलो गिरावट आएको थियो । गत वर्ष ७ दशमलव ८ अर्ब अमेरिकी डलरको कारोबार भएको थियो । जब कि सन् २०१४ मा यो आँकडा १० अर्ब डलर थियो । दुवै देशले सन् २०२२ सम्म आपसी व्यापारलाई ३० अर्ब डलर पु(याउने लक्ष्य राखेका छन् ।

एसियामा दुई ध्रुव
विदेश मामिलाका जानकार सिंहका अनुसार अहिले एसियामा दुई ध्रुव देखिएका छन् । एउटा एसिया–प्यासेफिक क्षेत्रमा जापान, अस्टे«लिया र अमेरिकाबीचको ध्रुव र अर्को गल्फ क्षेत्रमा चीन, रुस, सिरिया र इरानबीचको गठबन्धन छ । यस्तोमा भारतले सन्तुलित रूपमा अन्तर्रा्ष्ट्रिय मुद्दामा आफ्नो उपस्थिति देखाउन चाहेको छ । पुटिन र मोदीबीचको भेटले यस्तो सम्बन्धमा ठूलो अर्थ राख्ने अनुमान लगाइएको छ । पुटिनले विदेश नीति, अर्थ व्यवस्था र अन्तर्रा्ष्ट्रिय मामिलामा भारतसँग सहकार्य गर्ने इच्छा यसअघि नै प्रकट गरेका थिए । उनले छिट्टै भारत भ्रमण गर्ने रुसका लागि भारतीय राजदूत पंकज शरणले बताएका छन् ।

अनौपचारिक वार्ताको महत्व
अनौपचारिक वार्तामा कुनै सन्धि वा सम्झौता हुँदैन । तर, यो आपसी समस्या समाधानका लागि छलफलको ठूलो अवसर हुने गर्छ । यसले कूटनीतिक सम्बन्धलाई थप न्यानो बनाउँछ ।

अमेरिकालाई काउन्टर
पछिल्लो समय अमेरिका भारतसँग जति नजिक हुँदै छ, रुससँगको दूरी त्यति नै बढिरहेको छ । रुसको चीनसँग पनि निकै राम्रो सम्बन्ध छ । मोदी र पुटिनको भेटसँगै चीनसँगको भारतको सम्बन्ध थप सुधारको दिशामा अघि बढ्ने विदेश मामिला जानकार रहिस सिंहले बताएका छन् । यो सम्बन्ध पछिल्लो समय भारतसँग नजिक हुँदै गएको अमेरिकालाई भने काउन्टर हुन सक्छ । यसअघि सी जिनपिङ र मोदीबीचको अनौपचारिक भेटलगत्तै चिनियाँ पत्रिकाहरूले भारत र चीनबीचको सम्बन्ध घनिष्ट बन्दै गएको समाचार प्रकाशित गरेका थिए । चीन, रुस र भारत एकै कित्तामा रहँदा पाकिस्तानमाथि पनि दबाब बढ्ने सिंहको विश्लेषण छ । ‘पाकिस्तान यसकारण अघि देखिएको छ कि चीनले उसलाई साथ दिइरहेको छ । यद्यपि, चीनले उसको आतंककारी गतिविधिको समर्थन गर्न सक्दैन,’ सिंहले भनेका छन्, ‘रुसले भारतप्रति सकारात्मक दृष्टिकोण राख्दा पाकिस्तान भने सशंकित बन्न सक्छ ।’