भेनेजुएलाको निर्वाचनलाई अन्तर्रा्ष्ट्रिय समुदायले मान्यता नदिने

656
views

अन्तराष्ट्रिय समुदायले भेनेजुएलाको निर्वाचनलाई मान्यता नदिने भएको छ । निर्वाचनलाई अवैधानिक भन्दै अन्तराष्ट्रिय समुदायले मान्यता नदिने घोषणा गरेको हो । राष्ट्रपति निकोलस मदुरो सोमबार दोस्रो कार्यकालका लागि विजयी भएका थिए । विपक्षी दलहरूको बहिस्कार र धाँधलीका आरोपबीच मदुरो दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वा्चित भएका थिए ।

अर्जे्न्टिना, ब्राजिल, क्यानडालगायत १४ देशले मदुरो राष्ट्रपतिमा निर्वा्चित भएको विरोधमा आफ्ना देशका राजदूत फिर्ता गरेका छन् । आइतबारको निर्वाचनपछि अमेरिकाले भेनेजुएलामाथि नयाँ प्रतिबन्ध लगाउने घोषणा गरेको छ । आर्थिक संकटपछि भेनेजुएलामा चरम खाद्यान्न संकट भएको छ । भेनेजुएलाको भविष्य जोगाउन राष्ट्रपतिको नयाँ निर्वाचन गर्न आवश्यक भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । तर, रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले मदुरोलाई बधाई दिँदै उनको कार्यकालको सफलताको कामना गरेका छन् । देशले सामना गरेको आर्थिक र सामाजिक समस्या समाधान गर्न मदुरो सफल हुने पुटिनले विश्वास व्यक्त गरेका छन् ।

सोमबारको मतपरिणामअनुसार निर्वाचनमा मदुरोले ६८ प्रतिशत मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी हेनरी फालकनले २१ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगको कार्यालयले जनाएको छ । ‘हामीले फेरि निर्वाचनमा अत्यधिक सफलता पाएका छौँ । हामी लगातार अत्यधिक जनमत प्राप्त गर्ने राजनीतिक शक्ति साबित भएका छौँ,’ विजयपछि आफ्ना समर्थकलाई सम्बोधन गर्ने क्रममा मदुरोले भने ।
५२ प्रतिशतले निर्वाचन बहिस्कार गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

निर्वाचनमा भेनेजुएलाका प्रमुख विपक्षी दलहरूको गठबन्धन, डेमोक्रेटिक युनिटी राउन्ड टेबलले मतदानलाई सत्ताधारी दलको तमासा भन्दै बहिस्कार गरेको थियो । ल्याटिन अमेरिकामा भेनेजुएलालाई लिमा समूहका मुलुकले एक्ल्याएका कारण भेनेजुएलाको अर्थतन्त्र तहसनहस भएको छ । भेनेजुएलामा राष्ट्र«पति र उनको दलका कारण अर्थतन्त्र डामाडोल भएको भन्दै विपक्षीले निर्वाचन बहिस्कार गरेको थियो ।

विपक्षीले भेनेजुएलामा मानवीय तथा राजनीतिक संकट गहिरिएको बताउँदै आएका छन्  । उनीहरूले मदुरोको जितपछि भेनेजुएलामा प्रजातान्त्रिक मूल्य मान्यताकोे हार भएको ठहर गरेका छन् । मदुरोले विधिको शासन र राजनीतिक स्वतन्त्रतालाई तोडेको विरोधीहरूको आरोप छ । मदुरोले सन् २०१३ देखि तत्कालीन राष्ट्रपति ह्युगो चाभेजका उत्तराधिकारीका रूपमा सत्ता सम्हालिरहेका छन्  । नयाँ पत्रिका डटकमबाट