प्रचण्डः मेसिन कि मान्छे ?

526
views

– मनहरि तिमिल्सिना

चिन्तक मार्शल भन्छन्, ‘विपत्तिको समयमा जीवनलाई निन्दा गर्न सजिलो छ । तर, सच्चा बीर त्यही हो, जसले दुखमय जीवनलाई सन्तोषपूर्वक सहन्छ ।’ ४० वर्षयताको नेपाली राजनीतिका सदाबहार व्यक्तित्व हुन् प्रचण्ड । प्रचण्डको चामत्कारिक नेतृत्वबाट आज देश गणतन्त्रमा मात्र छैन, समाजवादको आकांक्षामा लम्किरहेको छ । तर, तिनै प्रचण्ड जो असीमित पीडा र कष्टहरुको घेरामा पनि छन् ।

अधिकांश नेपालीहरु भन्छन्, ‘नेताहरु ऐस–आरामको जिन्दगीमा छन् । राजनीति फोहोरी खेल हो, यिनीहरुले देश बिगारे ।’ तर, एउटा निश्चित मिसनसहित राजनीतिमा होमिएको योद्धाका लागि यी आरोपहरु कति वस्तुवादी हुन सक्छन् रु यतातिर कमैको ध्यान जान्छ । जनताको नजरमा ऐस–आरामको जिन्दगी व्यतित गरिरहेका नेताहरुको वास्तविक जिन्दगी कस्तो छ रु आउनुस्, नेपाली राजनीतिका सर्वा्धिक शक्तिशाली र चर्चामा रहेका २ पात्र ओली र प्रचण्डमध्ये एक प्रचण्डको जिन्दगीबारे थोरै बिमर्श गरौं ।

बि।सं। २०२८ सालमा कम्युनिष्ट पार्टीको सदस्य हुँदै राजनीतिमा होमिएका प्रचण्डका ‘दुखका चाङ’ साना छैनन् । बल्लतल्ल खान पुग्ने परिवारबाट राजनीतिक सङ्घर्षमा आउनु सामान्य कुरा थिएन । पञ्चायतविरोधी सङ्घर्षमा सबै वामपन्थीको एकै मत भएपनि नेपालमा क्रान्ति कसरी हुन्छ रु यसबारे धेरै नेताहरु दुविधामै थिए । त्यहीबेला ‘माओ र चाओ’ ठानिएका मोहनविक्रम सिंह र निर्मल लामासँग वैचारिक बहसमा हेलिए ३० वर्षे प्रचण्ड ।

सेक्टर काण्डपछि प्रचण्ड मशालको महामन्त्रीमा आए । प्रचण्डले ठाने, ‘नेपालमा दीर्घकालीन प्रकृतिको क्रान्ति जरुरी छ, जसले नेपाली समाजको कायापलट गर्न सकोस् ।’ त्यही संकल्प बोकेर उनले ‘माओवाद’को प्रस्ताव अघि सारे । शक्ति सञ्चय गर्दै क्रान्तिको जेहाद छेड्ने निष्कर्षमा पुगे । त्यसका लागि जरुरी हुन्थ्यो, आधारभूत विचार मिल्नेहरुसँग एकता । त्यसैले उनी एकता केन्द्रको अभ्यासमा लागे र सफल पनि भए ।

यी सबै काम सामान्य पक्कै थिएन । एकता नचाहनेहरु भन्थे, ‘प्रचण्ड दक्षिणपन्थी भयो ।’ माओवादलाई ‘भूत’ देख्नेहरु भन्थे, ‘प्रचण्ड उग्रवादी भड्कावमा जाँदैछ ।’ यी वैचारिक मुद्दाहरुको त उनले सामना गरे । तर, पारिवारिक बिपन्नताका बीच सिङ्गो क्रान्तिको वैचारिक, फौजी र व्यवस्थापकीय चुनौति उनकै थाप्लोमा आयो । निष्कर्षमा यसो भन्न सकिन्छ, ‘प्रचण्ड न बालक भए, न युवा नै । जिम्मेवारीले उनलाई शिशुबाट एकैचोटी प्रौढ बनायो ।’

जनयुद्ध सुरु नहुँदै बुद्धिजीवीहरु बोले, ‘बिपनामा जनयुद्धको सपना ।’ तर, प्रचण्ड गलेनन्, आफ्नो गन्तव्यमा अघि बढे । ११ वर्ष लामो सशस्त्र संघर्षका क्रममा नेता, कुटनीतिज्ञ, फौजी कमाण्डर, न्यायाधीश, प्रबन्धक सबै प्रचण्ड थिए । एकातिर राज्य थियो, जहाँ सेना, प्रहरी, अदालत, संसद, कर्मचारी र मन्त्रीहरु थिए, त्यसको विपक्षी मोर्चाको नेतृत्वमा थिए प्रचण्ड । यी सबैसँग संघर्षपूर्ण जीवन व्यतित गर्न नै उनी अभ्यस्त भए । उनी परिवारको पीडामा रोएनन् वा रुन पाएनन्, आफन्तको खुसीमा हाँसेनन् र हाँस्न पाएनन् । जीवनको प्रौढ अवस्थामा हत्केलामा जीवन राखेर जति संघर्ष गरे, त्यो सबै मुक्ति, गणतन्त्र, देश र नागरिकका लागि थियो ।

कतिपय भन्थे, ‘प्रचण्ड र ज्ञानेन्द्र एउटै हो ।’ अनि, तिनीहरु नै भन्थे, ‘प्रचण्ड ऐस–आराममा बसेर जनताका छोराछोरी युद्धमा होमेको छ ।’ तर, तिनीहरुले ‘प्रचण्ड दुख’ सोच्न जरुरी ठानेनन् र सोचेनन् पनि । उनको टाउकाको मूल्य तोकिएको थियो । जुनकुनै बेला ‘लादेन वा प्रभाकिरण’को हालत हुन सक्थ्यो । परिवारका सबै सदस्य भूमिगत थिए । कसैले प्रचण्डको आफन्त भन्ने हिम्मत गर्न सक्दैनथे, त्यो हिम्मत गर्नु जीवनकै कुर्वानी हुन्थ्यो । यसैकारण प्रचण्डका छोराछोरी मात्र होइन, परिवार र आफन्तको पनि शिक्षा र जीवन आम पूर्णकलीन कार्यकर्ताजस्तै बिचल्लीमा बित्यो ।

छोरा प्रकाश अल्पायुमा दिवङ्गत भएपछि शोक वक्तव्यमा प्रचण्डले भनेका थिए, ‘म भूमिगत राजनीतिमा थिएँ, कहिलेकाँही मात्र घर आउँथेँ, त्यो पनि राति अबेला आउँथेँ र बिहान झिसमिसेमै हिँडिहाल्थेँ । उनी निरन्तर सामाजिक, आर्थिक र मनोवैज्ञानिक असुरक्षाबीच हुर्किए । सुरक्षाका कारण एकपछि अर्का स्कुल फेर्दाफेर्दै उनको पढाइ लथालिङ्ग भयो । अरु थुप्रै नेपाली युवाजस्तै कलिलैमा हतियार बोकेर क्रान्ति र नेतृत्वको रक्षाका लागि उनी पूर्णकालीन कार्यकर्ता भए । अहिले सम्झँदा यस्तो लाग्छ, उनी आफ्नो जीवनमा कहिल्यै किशोर हुन पाएनन्, बालकबाट सिधै युवा भए । सक्रिय राजनीतिक जीवनका कारण लालनपालनमा मैले बाबुका रुपमा उनीमाथि न्याय गरिनँ, गर्न सकिनँ ।’ यो ‘प्रचण्ड दुख’को एउटा सानो दृष्टान्त मात्र थियो ।

२०६३ मा माओवादी शान्ति प्रक्रियामा आयो । शान्ति प्रक्रिया ठीक कि युद्धको निरन्तरता  र माओवादी वैचारिक द्धन्द्धको भूमरिमा रुमलियो । प्रचण्ड, बाबुराम, वैद्यबीच प्रष्ट वैचारिक अन्तर देखियो । वैचारिक बहसमा कमजोर भएपछि नेताहरु भन्थे, ‘प्रचण्ड लाजिम्पाट दरबारमा बस्छन्, त्यत्रो दरबार कसरी किने ?’ विरोधीको विरोध स्वाभाविक हुन सक्थ्यो । तर, आफ्नैहरु मौन बसे । प्रचण्डले धेरैपटक भाडाको घर भने । तर, सुन्ने को रु जब २०७४ पौषमा प्रचण्डले लाजिम्पाट छोडे र नयाँ डेरामा बसे, त्यसपछि बल्ल प्रमाणित भयो कि लाजिम्पाट भाडाकै घर थियो । तर, लाजिम्पाट दरबार प्रचण्डको भन्नेहरु कसैले पनि विगतको आफ्नो प्रचार गलतप्रति क्षमा मागेनन् ।

प्रचण्डविरुद्ध बजारमा आउने प्रचारबाजी कति सत्य छन् ? त्यसको लेखाजोखा गर्न्तिर कमै मान्छे लाग्छन् । प्रचण्डले लाजिम्पाट दरबार किने, स्वीस बैंकमा उनको अरबौं लगानी छ, मुक्ति टावर लगायत अनगिन्ती ठाउँमा लगानी छ । श्रीमतिको उपचारका लागि किन थाइल्याण्ड गएको रु छोरीका लागि करोडौंको घर किनिदिए, आदित्यादि ।


प्रचण्डविरुद्ध बजारमा आउने प्रचारबाजी कति सत्य छन् ? त्यसको लेखाजोखा गर्न्तिर कमै मान्छे लाग्छन् । प्रचण्डले लाजिम्पाट दरबार किने, स्वीस बैंकमा उनको अरबौं लगानी छ, मुक्ति टावर लगायत अनगिन्ती ठाउँमा लगानी छ । श्रीमतिको उपचारका लागि किन थाइल्याण्ड गएको रु छोरीका लागि करोडौंको घर किनिदिए, आदित्यादि । तर, कार्यकर्तालाई च्यूरा ख्वाउन नसकेर जब प्रचण्ड चुनाव हार्छन्, तब प्रश्न उठ्छ, ‘स्वीस बैंकमा खरबौं भए प्रचण्ड आफै खाडलमा जाकिँदा टुलुटुलु हेर्थे होला रु’

नेपाल उखान छ, ‘मनको बह, कसैलाई नकह ।’ उनी राजनीतिको केन्द्रमा छन्, उनको अन्तर्रा्ष्ट्रिय छवि छ । तर, उनका ‘दुखका चाङ’ सामान्य होलान् रु ५ वर्षको छोटो अवधिमा बाबू, छोरी र एक्लो छोरा मात्र गुमाएनन्, पत्नीको कमजोर स्वास्थ्य र पीडाको पनि सामना गरिरहे । यी सबै पीडा हाम्रै परिवारमा परेको भए के गथ्र्यौं होला रु हामी कसैले पनि यसरी सोच्दैनौं र जरुरी पनि ठान्दैनौं । तर, प्रचण्ड तिनै नेता हुन्, जो मुटुमाथि ढुङ्गा राखेर कार्यकर्ता र जनताको खुसीमा हाँस्छन् र देशको हरेक समस्याको गाँठो फुकाउँछन् ।

मूखैमा चुनाव थियो, अकस्मात् छोरा प्रकाशको निधन भयो । सिङ्गो देश शोकाकूल भयो । तर, प्रचण्ड सम्हालिए । देशैभरि कार्यकर्तालाई निर्देशन गरे, ‘चुनावी कार्यक्रम एक दिन पनि नरोक्नु ।’ पीडाकै बीच चुनाव भयो । वामपन्थीहरुको अपेक्षित नतिजा आयो, देशमा राजनीतिक अस्थिरता अन्त्य भयो । के यो सामान्य परिघटना थियो रु पक्कै पनि थिएन ।

बिहान पाँच बजेबाट प्रचण्ड दैलोमा ‘डेलिगेसन’को भीड लाग्छ । कोही मन्त्री माग्छन्, कोही सांसद, कोही केन्द्रीय सदस्य, कोही जागिर, कोही व्यवस्थापन । देशका हरेक समस्याले प्रचण्ड खोज्छ, समाधान उनैले दिनुपर्छ । उनी जोखिम मोल्छन् र निर्णय गर्छन् । जब नतिजा राम्रो आउँछ, मान्छेहरु भन्छन्, ‘मैले जे भनेको थिएँ, त्यही भयो ।’ जब परिणाम अनपेक्षित आउँछ, भन्छन्, ‘सबै प्रचण्डले बिगारे ।’

कतिपय विरोधीले प्रचण्डलाई हिटलरसँग तुलना गरे । तर, उनी एकदमै भावुक मात्र छैनन्, आफूले सक्ने कुनै पनि कुरा कसैलाई ‘हुन्नँ’ भन्दैनन् । उनको उदारताको फाइदा उठाउन खोज्नेहरु कम छैनन् । उनी दैनिक १८ देखि २० घण्टा खट्छन् । एक दिनमा यति कार्यक्रम भ्याउँछन् कि एउटा सामान्य मान्छेले कल्पना गर्नै सक्दैन । न उनको खाने तालिका छ, न त सुत्ने । तर, मान्छेहरु प्रचण्ड बिलासी जीवन बिताएको देख्छन् । कसले बुझ्ने प्रचण्ड दुख रु न भन्न मिल्ने न मानिसहरु आफै बुझ्ने । उनीप्रति शुभेच्छा राख्नेहरुको जमात कम छैन । तर, उनका दुख बुझिदिने र सत्य बोलिदिने नेता भेट्न सजिलो छैन ।

प्रचण्ड भेट्न बिहानदेखि नै नेताहरुको ताती लाग्थ्यो । कार्यकर्ताले नेताहरुसँग काम लिएर आए उनीहरु भन्थे, ‘अध्यक्षलाई गएर भेट्नुस् न ।’ आफू बोझबाट पन्छिएर सबै प्रचण्डकै थाप्लोमा हाल्नेहरु कम छैनन्, त्यसमाथि शहिद र बेपत्ता परिवारका चित्कार धेरै नेता सुन्दैनन्, सिधै प्रचण्डको थाप्लोमा हालिदिन्छन् । कमैले मात्र सोच्छन् कि प्रचण्ड पनि एक आम मानिस नै हो, उसले पनि खानुपर्छ, सुत्नुपर्छ, आराम चाहिन्छ ।

प्रकाश दाहाल भन्थे, ‘के बुबा मेसिन हो रु उहाँले खाना र औषधि खानु पर्दैन, सुत्नु पर्दैन रु’ तर, नेताहरुको गुनासो हुन्थ्यो, ‘अध्यक्षले समय नै दिएनन् ।’ प्रचण्डका दुख बुझ्ने प्रकाश आज छैनन् । तर, प्रचण्ड उस्तै चाप र चपेटामा छन्, मानौं कि उनी मानिस नभएर मेसिन हुन् । उनको दैलोमा मन्त्री, सांसद, केन्द्रीय सदस्य माग्नेहरुको भीड उस्तै छ । सबै माग्नकै लागि आउँछन् । तर, कसले सोध्ने रु ‘तपाईको स्वास्थ्य कस्तो छ रु तपाईलाई अलि लोड भयो, यति काम त म आफैं गर्छु नि ।’ अनि, उनीविरुद्ध मीडियामा आएका सतप्रतिशत गलत कुराको खण्डन कसले गर्ने रु शुभेच्छुकहरुले गरेकै छन् । तर, नेताहरुको जुन स्तरबाट गरिनुपथ्र्यो, त्यो चाहिँ भएको देखिँदैन ।

महाकवि देवकोटा लेख्छन्, ‘जीवनहरु विन्दुमा सुन्दर देखिन्नँ, कला सुन्दर देखिन्छ । जीवनको सत्य यथार्थिक र व्यवहारिक हुन्छ । तर, कलाको काल्पनिक हुन्छ ।’ हो, प्रचण्ड जीवन पनि त्यस्तै छ । मानिसहरुले बाहिर जसरी बोल्छन् र लेख्छन्, उनको यथार्थ जीवन त्यस्तो छैन । जीवनका ६३ वसन्तसम्म उनीसँग ‘चैन’को अनुभव छैन । व्यस्त जीवन, राष्ट्रिय समस्याको सम्बोधन, पारिवारिक पीडा, शहिद–बेपत्ता परिवारको पीडा र चित्कार, मीडिया हमला, यी सबै कुराको प्रचण्ड एक्लै सामना गरिरहेका छन् ।

अहिले प्रचण्ड र ओली साथसाथै छन् । प्रधानमन्त्री ओलीको पनि आफ्नै गौरवमय जीवनगाथा छ । मिसनमा दृढ संकल्प, प्रष्ट वक्ता, विषयप्रतिको विज्ञता र कुशल प्रस्तुतिले ओली राष्ट्रिय राजनीतिको केन्द्रमा छन् । धेरैले भन्छन्, ‘ओली–प्रचण्डको केमेष्ट्री मिल्छ ।’ यो एक हदसम्म साँचो पनि हो । तर, के यसले ‘प्रचण्ड बोझ’ घटाउला रु उदार कार्यशैली र समस्याको गाँठो खोल्ने जिम्मेवारीका कारण उनको बोझ घट्ने देखिन्नँ ।’

ओली, प्रचण्ड, देउवाहरु ठेक्कापट्टाबाट राजनीतिमा आएनन् । पेचिलो राजनीतिक संघर्षबाट आए, जुन कुरा अबको पुस्ताबाट कमै अपेक्षा गर्न सकिएला । मेरो अनुभवमा कसैको व्यक्तिगत जिन्दगी छैन भने त्यो नेता हो । आज प्रचण्ड त्यही ठाउँमा छन् । उनी दुखमा रुन मिल्दैन, मीडियामा आउने सयौं झुटको आफैं खण्डन गर्न मिल्दैन । त्यसैले त प्रचण्ड बेलाबखत भन्छन्, ‘रुन पनि नमिल्ने, हाँस्न पनि नमिल्ने ठाउँमा छु ।’