केरुङ–काठमाडौँ रेलमार्ग अध्ययन गर्न चिनियाँ टोली रसुवागढी नाकामा

1016
views

रसुवा, १०, जेठ । केरुङ–काठमाडौँ रेलमार्ग निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन गर्न चिनियाँ प्राविधिक टोली रसुवागढी नाका आइपुगेको छ । टोलीले मंगलबार काठमाडौंबाट स्थलगत अध्ययन सुरु गरेको थियो ।

रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले चिनिया प्राविधिक टोलीबाट रेलमार्ग निर्माणका लागि प्राविधिक र भौगर्भिक अध्ययन भइरहेको बताए ।

टोलीले काठमाडौंको टोखाबाट नुवाकोटको छहरे, खरानीटार विदुर हुँदै रसुवाको कालिकास्थान, राम्चे, धुन्चे स्याफ्रुबेसी र रसुवागढीसम्म विभिन्न प्वाइन्टको अध्ययन गरेको छ ।

रेल निर्माणका लागि भौगर्भिक अध्ययन गर्दा उक्त आयोजना विश्वकै चुनौतीपूर्णमध्येको आयोजना भएको चिनिया पक्षले बताउँदै आएको छ । तिब्बती रेलमार्ग सिगात्सेसम्म आइसकेकोले सन् २०२०–२२ सम्म हिमाली उपत्यका केरुङ आइपुग्ने चीनले दाकब गर्दै आएको छ । रसुवागढी–केरुङको दूरी २४ किलोमिटर छ ।

सम्भाव्यता अध्ययन टोलीमा चिनियाँतर्फका प्राविधिक इन्जिनियर, भूगर्र्भ्विद्सहित ६ सदस्य र नेपालतर्फ टोलीमा रेल विभागका अधिकारी र प्राविधिक ३ गरी ९ जना सहभागी छन् ।