पश्चिम दाङमा झाडापखालाका बिरामी बढे

1101
views

दाङ, १३ जेठ । पश्चिम दाङमा झाडापखालाका बिरामीहरु दिनप्रतिदन बढेको शान्ति नगर स्वास्थ्य चौकीले जनाएको छ । शान्तिनगर गाउँपालिकाको पातेटाकुरामा फैलिएको झाडापखालाका कारण बिरामी हुनेको संख्या ४ सय ३९ पुगेको शान्तिनगर स्वास्थ्य चौकीका प्रमुख हरि पुनले बताए । झाडापालाका बिरामी दैनिक २० जना उपचार गराउन अस्पताल आईपुगेका छन् ।

स्थानीय माइलीपानी खानेपानी मुहानबाट वितरीत दुषित पानीका कारण शान्तिनगर गाउँपालिकाको वडा नम्बर ३ र ४ मा झाडापखाला फैलिएको स्वास्थ्यकर्मीहरुले वताएका छन् ।

बिरामीहरुका लागि औषधिको अभाव नरहेपनि त्यहाँ भरपर्दो उपचार भने हुन सकेको छैन । स्वास्थ्य चौकीको १० जनाको टोलीले उपचार गरिरहेको भएपनि बाह्य अस्पतालबाट चिकित्सकहरु उपचारका लागि गएका छैनन् ।

‘शनिबार साँझ राप्ती अञ्चल अस्पतालबाट तीन जना चिकित्सक आउनु भएको थियो, उहाँहरु पनि एकछिनमै गैहाल्नु भयो,’ पुनले भने, ‘बिरामी संख्या बढिरहेकाले हाम्रो सिमित जनशक्तिले उपचारमा कठिनाई भइरहेको छ ।’