‘इच्छुक’ स्मृति पत्रकारिता पुरस्कार–शर्मालाई

1392
views

हेटौडा, १३ जेठ । कृष्ण सेन ‘ईच्छुक’को स्मृतिमा क्रान्तिकारी पत्रकार संगठन, नेपाल मकवानपुर शाखाले स्थापना गरेको कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार पत्रकार नवराज शर्मालाई प्रदान गरिएको छ ।

आज ‘इच्छुक’को १६ औं स्मृति दिवसका अवसरमा सो पुरस्कार शर्मालाई प्रदान गरिएको हो । पुरस्कार पाँच हजार पाँच सय पचपन्न रुपैयाँ राशीको रहेको छ । सो अवसरमा जिल्लाका विविध सम्पर्क सूचनाहरु समेटेर तयार गरिएको फोन डायरीको समेत विमोचन गरिएको छ ।

पुरस्कार वितरण समारोहमा बोल्दै प्रभात चलाउनेले कृष्ण सेन सांस्कृतिक योद्धा, लेखक, साहित्यकारका रुपमा मात्र नभई एक महान स्वप्न द्रष्टा भएको बताए । चलाउनेले सेनको जीवनबाट नेपाली पत्रकारिता र पत्रकारहरुले धेरै कुरा सिक्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै पुरस्कृत हुने बरिष्ठ पत्रकार नवराज शर्माले कृष्ण सेन सबैको आदर्श भएको बताए । कृष्ण सेनले सधै आफूलाई जनताको पक्षमा उभ्याएको बताउँदै शर्माले सेनको जीवनबाट सबैले सिक्नुपर्ने बताए ।