अज्ञात समुहले कर्मचारीमाथि गोली प्रहार गरी साढे ९ लाख लुटे

786
views

धनगढी, १३ जेठ । बैंकबाट पैसा झिकेर आईएमई सेन्टर जाँदै गरेका एक व्यक्तिमाथि अज्ञात समुहले गोली प्रहार गरेको छ ।

प्रदेश नम्बर ७ को राजधानी धनगढी चौराहस्थित सिद्धार्थ बैंकबाट पैसा झिकेर निस्केका आईएमई सेन्टरका कर्मचारी निर्मलकुमार कार्कीमाथि सेन्चुरी बैंकअगाडि गोली प्रहार भएको हो । सिद्धार्थ बैंक र सेन्चुरी बैंकको दूरी करिब दुई सय मिटर छ । बिहान पौने १० बजे सिद्धार्थ बैैंकबाट साढे ९ लाख रुपैयाँ झोलामा बोकेर साइकलमा कार्यालय जाँदै गरेका कार्कीमाथि गोली प्रहार गरी अज्ञात समूले पैसा लुटेको हो । कार्कीको पाखुरा र छातीमा गोली लागेको छ ।

मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरी पैसा लुटेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । बैंकबाट साइकलमा निस्केको केही मिनेटमै कार्कीलाई पिछा गरिरहेका लुटेराले चौराहमा रहेको सेन्चुरी बैंकअगाडि गोली प्रहार गरी पैसाको झोला लुटेर लगेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि सेती अञ्चल अस्पताल लगिएको छ ।

गोली प्रहार गर्ने व्यक्तिहरूले लु ४० प ४४३८ नम्बरको मोटरसाइकल प्रयोग गरेको प्रत्यक्षदर्शीहरुले बताएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट पेस्तोलको गोली समेत बरामद गरेको छ ।