‘बैंकिङ एक्स्पोले नेपालमै उद्यमी बन्ने बाटो खुलाउँछ’ ः गभर्नर

625
views

काठमाडौँ, १६ बैशाख । नेपालमा पहिलो पटक बैंक, बीमा, सेयर बजार लगायतबारे जानकारी दिने उद्देश्यले बैंकिङ एक्स्पो २०१७ सुरु भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले एक समारोहका बीच कार्यक्रमको उद्घाटन गरे ।
समुद्घाटन समारोहमा बोल्दै गभर्नर डा. नेपालले यस्तो खाले कार्यक्रम नेपालमा अपरिहार्य रहेको बताए । बैंकिङ एक्स्पोले वित्तीय जागरुकता बढाउने भएकाले यस्ता कार्यक्रमहरु समयसमयमा भइरहनुपर्ने उनले बताए । ‘ यस्ता कार्यक्रमहरु अन्य मुलुकहरुमा भइरहन्छ । नेपालमा बल्ल सुरुवात भएको छ ।’ गभर्नर डा. नेपालले भने, ‘अब यसलाई हामी सबै मिलेर निरन्तरता दिनुपर्छ ।’ यस बैंकिङ एक्स्पोले नेपालमै उद्यमी बन्ने बाटो खुलाउने बताउँदै उनले सबै नेपालीलाई एक्स्पोमा राखिएका स्टलहरु भिजिट गर्न आह्वान समेत गरे ।
कार्यक्रममा बोल्दै बैंकर्स संघका अध्यक्ष अनिल केशरी शाहले बैंकिङ एक्स्पोमा आफूहरुले सहकार्य गरिरहेको जानकारी दिँदै कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पारे । काठमाडौँकै मानिसमा पनि वित्तीय जागरुकताको आवश्यकता रहेको र यो कार्यक्रमले उक्त आवश्यकता पूरा गर्ने उनको भनाइ थियो । यस्ता खाले कार्यक्रमले जनतालाई बैंकसँग जोड्ने विश्वास व्यक्त गर्दै शाहले बैंकसम्बन्धी निती तथा अन्य अत्यावश्यक सूचनाहरुबारे जानकारी लिनका लागि बैंकिङ एक्स्पो भिजिट गर्न सबैलाई आह्वान गरे ।
त्यस्तै, मिडिया इन्टरनेशलका अध्यक्ष तथा कार्यक्रमका संयोजक माधव निर्दोषले कृषि, व्यवस्थापन लगायतका विषय अध्ययन गरेका तथा गरिरहेका विद्यार्थीहरुलाई नेपालमै उद्यमी बन्न प्रेरित गर्ने उद्देश्यले बैंकिङ एक्स्पोको आयोजना गरेको जानकारी दिए । साथमा बैंकिङ एक्स्पोले निशूल्क रुपमा बैंकिङ सूचना प्रदान गरि आर्थिक रुपमा नै सुसूचित गर्ने विश्वास व्यक्त गरे । बैंक तथा सर्वसाधारणहरुको साथ यसरी नै पाइरहे हरेक वर्ष यस्ता कार्यक्रमहरु भइरहने उनले बताए ।
मिडिया इन्टरनेशनलको आयोजनामा नेपाल राष्ट्र बैंक, बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकर्स एशोसियसन लगायतको सहभागितामा आयोजित बैंकिङ एक्स्पो ३ दिनसम्म चल्नेछ । एक्स्पोमा वाणिज्य बैंक, विकास बैंक, लघुवित्त, रेमिट्यान्स कम्पनी, बीमा कम्पनी, मर्चेन्ट बैंक, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, युवा स्वरोजगार कोष, नागरिक लगानी कोष लगायत गरी ४६ वटा स्टलहरु राखिएका छन् । स्टलहरु भिजिट गर्न र बैंक, बैंकिङ सेवालगायतबारे जानकारी लिन आउने सर्वसाधारण तथा विद्यार्थीहरुको उल्लेख्य सहभागीता रहेको कार्यक्रमका संयोजक निर्दोषले जानकारी दिए ।