जातीय संग्रहालयले तान्यो पर्यटक

1165
views

बेसीशहर । लमजुङको पर्यटन प्रवर्द्धनसँगै विभिन्न गाउँहरूमा निर्माण गरिएका जातीय संग्रहालयहरू पर्यटक आकर्षणको माध्यम बनेका छन् । स्थानीय संस्कार र संस्कृतिलाई जोडेर निर्माण गरिएका संग्रहालय पर्यटन प्रवर्द्धनका लागि थप कोषेढुङ्गा बनेका हुन् ।

लमजुङमा वार्षिक एकलाखको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटकहरू पर्यटकीय गाउँहरूमा पुग्ने गर्दछन्। पर्यटकको आगमन वृद्धिसँगै पर्यटकीय गाउँहरूमा विभिन्न जातजातिका संग्रहालय निर्माण गरिएका छन्। प्राकृतिक सौन्दर्य हेर्न तथा होमस्टेको अनुभव लिन पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई संग्रहालयहरू पुरानो संस्कृति बुझ्ने थलो बन्दै गएको गाउँसहर दलित संग्राहलयका संयोजक अजय मजाकोटी बताउँछन् ।

काउलेपानी होमस्टे नजिकैको दलित बस्तीमा दलित संग्राहलय खोलिएको छ। घलेगाउँ र राइनास होमस्टेमा गुरुङ जातिको संग्राहलय छ । भुष्मे होमस्टेमा तामाङ र तुर्लुङकोट होमस्टेमा दुरा संग्राहलय बनाइएको छ। संग्राहलयमा आ–आफ्ना जातिको पहिचान, संस्सार र संस्कृति झल्किने सामाग्री राखिएका छन्। होमस्टे गाउँहरूमा निर्माण गरिएका संग्रहालयले विभिन्न जातजातिका संस्कार, सस्कृति, वेशभूषा र भाषाबारे अध्ययन गर्न सहज भएको पर्यटकहरुको अनुभव छ ।

गाउँ–गाउँमा रहेका होमस्टेमा स्वदेशीदेखि विदेशी पर्यटक पुग्ने गरेका छन् । सहरको कोलाहल छल्न गाउँ छिर्ने आन्तरिक तथा बाह्य पर्यटकले नै ग्रामीण पर्यटन धानेको छ । तिनै पर्यटकलाई आकर्षित गर्न निर्माण गरिएका संग्राहलयमा स्थानीय कला संस्कृतिसँगै आ–आफ्नो जातीय संस्कार अन्तर्गत जन्मदेखि मृत्युसम्म प्रयोग हुने सामग्रीहरू राखिएका छन् । अध्ययन अनुसन्धानमा रुचि राख्ने पर्यटकहरूलाई जातीय संग्रहालय पुस्तकालय सरह भएको घलेगाउँ पर्यटन विकास समितिका अध्यक्ष प्रेम घले बताउँछन् ।

पछिल्लो समस्य लमजुङ होमस्टेको हब बन्दै गएको छ। लमजुङका सबैजसो स्थानीय तहमा होमस्टे सञ्चालनमा आएका छन् । बेसीशहर–चामे सडक निर्माणले अन्नपूर्ण पदमार्ग संकटमा परिरहेका बेला वरीपरीका गाउँहरुले होमस्टे सञ्चालन गरि पर्यटक तानिरहेका छन् ।