बालबालिकालाई दिवा खाजा व्यवस्था

978
views

महेन्द्र जिसी
पर्वत, १४ जेठ । कुश्मा नगरपालिका वडा नं ५ ले सदरमुकाममा रहेको बाल मन्दिर प्राविका छात्र छात्राहरुलाई दिवा खाजाको व्यवस्था गरेको छ ।

विपन्न तथा मजदुरका बालबालिकाहरुले अध्ययन गर्दै आएको सो बालबालिकाहरुलाई दिवा खाजाको व्यवस्था गरिएको हो । दिवा खाजाको सोमबार कुनपाका प्रमुख रामचन्द्र जोशीले वालवालिकाहरुलाई खाजा खुवाउँदै उद्घाटन गरेका हुन् ।

जोशीले आफु उक्त प्राविको अध्ययन गरेको विद्यार्थी भएको बताउँदै स्कुल पढदा तात्कालिन सरकारले खुवाएको खाजा खाएर अध्ययन गरेको र अहिले स्थानीय सरकारले दिवा खाजाको व्यवस्था गरेको बताए ।

उनले स्थानीय सरकारले जनताको समस्या अनुकुलको सेवा पु¥याउनु पर्नेमा जोड दिदैं भने ‘को धनी को गरीब सबैले स्थानीय सरकाको अनुभूति हुनुपर्दछ, मजदुरका छोराछोरीहरुको अभिभावकत्व पनि स्थानीय सरकाले गर्नुपर्दछ ।’

विपन्न तथा मजदुर वर्गका छोराछोरी पढन आउँने विद्यालयमा बाबु आमाले छोराछोरीहरुलाई खाजाको व्यवस्था गर्न नसक्ने हुँदा बालबालिकाहरुलाई दिवा खाजाको व्यवस्था गरेको वडा अध्यक्ष चित्रकला शर्मा भारतीले बताईन् ।

बालबालिकाको दिवा खाजाको व्यवस्थाका लागि वडा कार्यालयले एकलाख रुपैयाँ बजेट विनियोजन गरेको छ । विद्यालयमा ८५ जना बालबालिकाहरुले अध्ययन गर्दै आएका छन् ।

कार्यक्रममा नगर शिक्षा अधिकारी राजेन्द्र बहादुर क्षेत्रीले नगरको शिक्षा नीति अनुसार शिक्षक र विद्यार्थी अनुपात कायम गराउन समस्या भईरहेको समयमा नगरपालिकाभरीका सामुदायीक प्रावि मध्ये धेरै विद्यार्थी संख्या हुने विद्यालयमा जनप्रतिनिधिहरुले खाजाको प्रबन्ध मिलाउनु सकरात्मक पक्ष भएको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल विश्वकर्माले अर्गानिक खाजा बनाएर नियमित रुपमा बालबालिकाहरुलाई दिवा खाजा खुवाउने प्रबन्ध मिलाइएको बताए ।