नेपाल बीमक संघको लघुबीमा तालिम सम्पन्न

1170
views

काठमाडौँ, १६ जेठ । नेपाल बीमक संघले मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका कर्मचारीहरुका लागि २ दिने तालिम सञ्चालन गरेको छ ।

चितवनको सौराहामा सम्पन्न उक्त तालिममा मेरो माइक्रोफाइनान्सका कर्पोरेट, ईलाका र शाखा कार्यालयका करीब १०० कर्मचारीहरुको सहभागिता रहेको थियो ।

तालिममा नेपाल बीमक संघका दिनेश पन्त, शिखर इन्सुरेन्स कम्पनि लिमिटेडका सहायक महाप्रबन्धक उदित काफ्ले, प्रुडेन्सियल इन्सुरेन्स क कम्पनि लिमिटेड बीरगञ्जका क्षेत्रीय प्रबन्धक अमर गौतम, लुम्बिनी जनरल इन्सुरेन्स कम्पनि लिमिटेड नारायणगढका क्षेत्रीय प्रबन्धक नवराज तिमिल्सिना, सिद्धार्थ इन्सुरेन्स कम्पनि लिमिटेड नारायणगढका क्षेत्रीय प्रबन्धक माधव रेग्मी लगायत लघुवित्त र बीमा क्षेत्रका विज्ञहरुले तालिममा सहजीकरण गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै मेरो माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले तालिमको औचित्य र आवश्यकताको बारेमा प्रष्ट पारे । दाहालले उपस्थित सम्पूर्ण सहभागीहरु मार्फत लक्षित वर्गमा बीमा कार्यक्रम बारे जनचेतना फैलाउँदै सेवा दिनुपर्ने कुरामा जोड दिएका थिए ।

तालिममा लुम्बिनी जनरल इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत नुर प्रकाश  प्रधानले लघुबीमाको अपरिहार्यताबारे प्रकाश पारेका थिए ।

नेपाल बीमक संघका प्रमुख कार्यकारी अधिकृत द्रोण प्रसाद आचार्यले लघुवित्त संस्थाहरुको चौतर्फी नेटवर्क रहेको बताउँदै ती संस्थाहरु मार्फत जनस्तरमा सजिलै सेवा पुग्ने आशा र अपेक्षा गरे ।

४६ जिल्लामा ७६ शाखा कार्यालयहरु मार्फत ७२ हजार विपन्न परिवारमा लघुवित्तीय सेवा दिदै आएको छ ।

लघुवित्तीय सेवा लिइरहेका बिपन्न परिवार र लघुउद्यमीहरुका जीवन तथा व्यवसायमा आइपर्ने जोखिम न्यूनीकरणका लागि बीमा कार्यक्रम अपरिहार्य रहेको नेपाल लघुवित्त बैंकर्स संघको निष्कर्ष र निर्णय बमोजिम नेपाल बीमक संघले नेपाल सरकार, सक्षम र युके एडको सहकार्यमा बीमा सेवा दिन शुरु गरेको छ ।

संघले सुलभ लागतमा ग्रहस्थ बीमा, व्यक्तिगत दुर्घटना बीमा, स्वास्थ्य बीमा, लघु व्यवसाय बीमा, गम्भीर प्रकृतिका रोग बीमा, पशु बीमा र बाली बीमा गरी चौतर्फी सेवा दिने योजना अघि सारेको छ ।