खडेरी बढेसँगै रोल्पामा खानेपानीको हाहाकार बढ्यो

1272
views

रोल्पा, १७, जेठ । लामो खडेरी परेपछि रोल्पाका अधिकांश बस्तीमा खानेपानीको हाहाकार बढेको छ ।पानीको हाहाकार देखिएपछि स्थानीयले सास्ती भोग्दै आएका छन् । खडेरीका कारण मूल सुक्न गई खानेपानीको अभाव भएपछि घण्टौ लगाएर स्थानीय मूल, पँधेरा चहार्न वाद्य भएक छन् । स्थानीयका अधिकांश घरमा धारा जडान गरिएपनि धारामा पानी नआउँदा घण्टौँ पैदल हिँडेर पानी ल्याउन विवश भएका छन् ।

घरमा भएको धारामा पानी आउन छाडेको एक महिनाभन्दा वढी भएकाले तीन घण्टा पैदल हिँडेर पानी ल्याउन बाध्य छौँ, रोल्पाको परिवर्तन गाउँपालिका, रांसीचौरका ललित क्षेत्रीले बताए ।

सोही गाउँपालिका कालावाङवासी बिहान उठ्ने बित्तिकै डोकामा गाग्रो बोकेर पानी लिन निस्कन्छन् । जाँद“एक गाग्रो पानी लिन ा आउँदा तीनघण्टा लाग्छ,” स्थानीय लोकेन्द्र केसीले बताउँछन् ।

मान्छेले खानको लागि त टाढैको मुहानबाट भएपनि जसोतसो काम चलिरहेको छ गाईभैँसीलाई खुवाउन र मान्छेलाई सरसफाइ गर्न निकै समस्या भएको छ, केसीले भन्नुभयो ।

जिल्ला सदरमुकाममा समेत पानीको हाहाकार देखिएको छ । धारामा पानी नआएपछि बजारवासीले पानी आपूर्तिका लागि खानेपानी उपभोक्ता समितिमा दबाब दिइरहेका छन् । “पानीको सही व्यवस्थापनसहित वितरण गर्नसके केही राहत हुनसक्छ,” यसतर्फ समितिले ध्यान दिएको छैन, स्थानीय खिमबहादुर केसीको भनाई छ ।

लामो समयको खडेरीले पानीका मुहान सुकेका कारण खानेपानी आपूर्तिमा समस्या देखिएको लिवाङ बजार खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष लिलाधर आचार्यले बताए ।

पूर्वी रोल्पाको तेवाङमा स्थानीय खानेपानी उपभोक्ता समितिले हप्ताको दुई दिन पानी वितरण गर्ने नियम बनाएको भए पनि केही महिनायता पानी आउन छाडेको स्थानीय रविलाल रोकाले जानकारी दिए ।

धारामा पानी आउन छोडेसँगै सो गाउँका ३०० भन्दाबढी घरधुरी दुई घण्टा टाढाको मूलबाट पानी खान बाध्य छन् । खुला दिसामुक्त जिल्ला घोषणापछि पूर्ण सरसफाइ अभियान सञ्चालन भइरहे पनि खानेपानीकै कारण अभियानले तीव्रता लिन नसकेको सरसफाइका जानकारहरु बताउँछन् ।