सेवाग्राहीसंग घुस लिँदालिँदै रंगेहात पक्राउ

1016
views

प्रकाश सापकोटा
चितवन १७, जेठ । मालपोत कार्यालय चितवनमा कार्यरत कार्यालय सहायक शंकरप्रसाद धिताल सेवाग्राहीसंग घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट आएको टोलीले रत्ननगर ९ घर भएका कार्यालय साहयक धिताल लाई आज बिहिबार ११ः३५ बजे मालपोत कार्यालयबाटै पक्राउ गरेको हो ।

उनले एकजना सेबाग्राहीसंग नगद २५ हजार रुपैंया लिँदै गर्दा पक्राउ गरिएको अख्तियार कार्यालय हेटौंडाका प्रहरी निरिक्षक बिनिमाहदेब पौडेलले जनाकारी दिनुभयो ।

कार्यालय सहयोगी धितालले भरतपुर ९ का एक सेवाग्राहीलाई पर्ती जग्गाको लालपुर्जा बनाइदिने भन्दै २५ हजार घुस लिएका थिए । उनलाई प्रारम्भिक बयानपछि अख्तियार कार्यालय हेटौडा लगिएको छ । मालपोत कार्यालय भरतपुरमा भ्रष्टचार हुने गरेको व्यापक जनगुनासो आएपछी लगातार अख्तियारले निगरानी गरिरहेको थियो ।

घुस लिँदा लिँदै कर्मचारी पक्राउ परेपछि सेवाग्राही खुसी भएका छन् । भरतपुर ९ का घनश्याम पौडेलले काम हुँदैन भन्नेर अड्काउने तर पैसा दिएपछि तुरुन्तै गरिदिने प्रबृती बढेकोले अख्तियारले निरन्तर निगरानी गर्नुपर्ने बताउनुभयो । यसअघि पनि मालपोत कार्यालय चितवनबाट घुस लिँदालिँदै कर्मचारीहरु पक्राउ पर्ने गरेका थिए । तर केहिदिन पछाडी नै छुट्ने प्रवृत्तिले भष्ट्रचार झन् मौलाएको देखिन्छ ।