नेकपाको सचिवालय बढाउन नहुने जनार्दन शर्माकाे धारणा

923
views

सुर्खेत, १९ जेठ– नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले नेकपाको सचिवालयमा जान अनिच्छुक रहेको बताएका छन् ।

प्रेस चौतारी र प्रेस सेन्टर नेपालले आज वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता शर्माले सचिवालयको संख्या बढाउन नहुने बताएका छन् । ‘सबैभन्दा शक्तिशाली केन्द्रीय समिति, त्यसपछि पोलिटब्यूरो र स्थायी कमिटी हुन्,’ उनले भने, ‘सचिवालयको काम दैनिक पार्टी सञ्चालनमा मात्र सीमित छ । त्यहाँ ठूलो निर्णय हुँदैन । सामाजिक सञ्जालमा म र अरु कोहीलाई थप्ने भन्ने हल्ला मात्र हुन् ।
पूर्वगृहमन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य शर्माले नेकपाका प्रदेश, जिल्ला र तल्ला कमिटीको गठन आवश्यकताको आधारमा गरिने बताए । विधानमा भएको व्यवस्था बमोजिम तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका कमिटीलाई समायोजन गरिने उनले बताए । उनले २ वर्षमा महाधिवेशन गर्ने बताउँदै प्रदेश र अन्य तहका कमिटी गठनका लागि कार्यदल बनाइएको र कार्यदलले स्थायी कमिटीमा रिपोर्ट बुझाएपछि माथिबाटै निर्णय हुने जानकारी दिए ।
शर्माले अहिले कर्णाली प्रदेशमा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनेका कम आयोजना भएका कारण कम बजेट आएको बताए । ‘हामीसँग डीपीआर बनेका ठूलो आयोजना कम मात्र छन्,’ उनले भने, ‘अब डीपीआर निर्माणको काम प्रदेश सरकारले गर्नेछ भने आगामी वर्षमा केन्द्र सरकारले बजेट लगानी गर्नेछ ।’
शर्माले प्रदेश सरकार आफैंले पनि प्राकृतिक स्रोत र परिश्रमी जनताको साथबाट केन्द्रले दिएको बजेटभन्दा बढी काम गर्न सक्ने बताए । ‘कर्णालीलाई १० वर्षमा धनी बनाउने गरी प्रदेश सरकारले जग निर्माण गर्न लागेको छ,’ उनले भने, ‘सबै कर्णालीवासीले सरकारले देखेको सपनालाई साकार पार्न सहयोग गर्नुपर्छ ।’ नेता शर्माले एउटा द्रुतमार्ग, भेरी करिडोर र कर्णाली करिडोर बजेटमा समेटिएको बताए ।