आर्थिक वर्षको वैशाख मसान्तसम्म ४९ प्रतिशत उजुरी फछ्र्यौट

667
views

काठमाडौँ, जेठ २२ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ४९ प्रतिशत उजुरी फछ्र्यौट गरेको छ ।


 कूल ८०८ उजुरीमध्ये आठ हजार ३१० उजुरी फछ्र्यौट गरेको हो । अख्यिारमा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका सात हजार ७१९ उजुरीसहित १६ हजार ८०८ उजुरी थिए । चालु वर्षमा नौ हजार ८९ उजुरी नयाँ दर्ता भएका थिए ।
अघिल्लो आर्थिक वर्षको यसै अवधिमा ५३ प्रतिशत उजुरी फछ्र्यौट भएकोमा चालु वर्षमा केही कम उजुरी फछ्र्यौट भएका हुन् । अख्तियार प्रवक्ता रामेश्वर दङ्गालका अनुसार कुल उजुरीमध्ये ४१३ विस्तृत अनुसन्धानका क्रममा छन् । अन्य निकायमा अनुसन्धानका लागि तीन हजार ७३१ उजुरी पठाइएका छन् । चार हजार १६६ उजुरी तामेलीमा राखिएका छन् । प्रवक्ता दङ्गालले केही तथ्य नभएका उजुरीलाई तामेलीमा राखिएको बताउनुभयो ।
चालु आर्थिक वर्षको वैशाखसम्म अख्तियारले ११९ मुद्दा दायर गरेको छ । जसमा नक्कली शैक्षिक प्रमाणपत्रका १६ वटा मुद्दा रहेका छन् । भ्रष्टाचारसम्बन्धी १०३ मुद्दा रहेका छन् । सबै मुद्दामा २६८ प्रतिवादी रहेका छन् । २६८ प्रतिवादीबाट दश अर्बभन्दा बढी बिगो दाबी गरिएको छ ।
अख्तियारले विस्तृत अनुसन्धान जारी राखेका ४१३ उजुरीमध्ये ४० अकुत सम्पत्तिका रहेका प्रवक्ता दङ्गालले बताउनुभयो । सम्पत्ति मूल्याङ्कन अन्र्गत छानविन प्रक्रिया जारी राखिएको हो । प्रवक्ता दङ्गालले अहिले अनुसन्धान कार्यविधि समेत परिमार्जन गरिएकाले प्रक्रिया थप परिस्कृत भएको बताउनुभयो ।
अख्तियारमा परेका उजुरीमध्ये सबैभन्दा बढी शिक्षा क्षेत्रका रहेका छन् । चालु वर्षमा शिक्षाका तीन हजार ४४ उजुरी परेका छन् । जसमा छात्रवृत्ति, ‘चाइल्ड फण्ड’को दुरुपयोग, भौतिक पूर्वाधार निर्माण लगायतका विषय छन् ।
यस्तै दोस्रोमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतका उजुरी छन् । जसमा स्थानीय तहहरूका विकासका काम, सामाजिक सुरक्षा भत्ताको दुरुपयोग लगायतका विषय उजुरीमा छन् । पछिल्लो समय स्थानीय तहमा कानुनविपरीत करारमा कर्मचारी नियुक्त गरेका विषयका छन् ।
यस्तै, भूमिसुधार मन्त्रालय अन्तर्गतका विषयमा तेस्रो बढी उजुरी छन् । जसमा सरकारी जग्गा जमिन व्यक्तिको नाममा गरिएका लगायतका विषय छन् । अख्तियार अनुचित कार्य अन्तर्गत परेका धेरै विषयलाई तामेलीमा राखेको छ ।