ग्वाटेमालाको ज्वालामुखी विस्फोटमा ६५ को मृत्यु

606
views

एजेन्सी । मध्यअमेरिकी देश ग्वाटेमालामा भएको भीषण ज्वालामुखी विस्फोटमा मृत्यु हुनेको संख्या ६५ पुगेको छ । सोमबार राजधानी सहरनजिकै यो शताब्दीकै शक्तिशाली विस्फोट भएको थियो । सो स्थानमा गत वर्ष दुईपटकसम्म ज्वालामुखी विस्फोट भएको थियो ।

ज्वालामुखी विस्फोटमा दर्जनौँ मानिस हराइरहेका ग्वाटेमालाको विपद्सम्बन्धी निकायले जानकारी दिएको छ । ग्वाटेमाला सिटीभन्दा ३५ किलोमिटर पर रहेको सो क्षेत्रमा तीव्र वेगमा निस्किएको तातो खरानी र लाभाबाट चार हजारभन्दा बढी व्यक्ति प्रभावित भएका छन् ।

ज्वालामुखीमा ४६ जना गम्भीर घाइते भएका र तीमध्ये अधिकांशको अवस्था चिन्ताजनक भएको बताइएको छ । ज्वालामुखीबाट कम्तीमा १७ लाख व्यक्ति प्रभावित भएका छन् । ती मध्ये ३ हजार २७१ लाई विभिन्न शिविरमा राखिएको छ । प्रभावितका लागि एक हजार ७ सय ८७ वटा अस्थायी शिविर बनाइएको छ ।

घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक भएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । सेना र प्रहरीले उद्धारको काम जारी राखेका छन् । पहाडी क्षेत्रमा अकस्मात् ज्वालामुखीको गतिविधि बढेको र खरानीको मुस्लोका कारण दिउँसो नै रातिको समयजस्तो अनुभव भएको स्थानीयले बताएका छन् । ज्वालामुखीविज्ञ जेनिन क्रिपनरले ज्वालामुखी अझै सक्रिय हुने भन्दै सावधानी दर्साउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

ज्वालामुखीबाट ठूलो परिमाणमा भग्नावशेष र चट्टानसहितको भेल बाहिर बगेको उनले बताए । ज्वालामुखीबाट निस्केका वस्तु खतरनाक र घातक हुन सक्ने उनले बताए ।