नारायणगढ–मुग्लिन सडक चौबिसै घन्टा खुला

802
views

चितवन २४ जेठ, मुग्लिन–नारायणगढ सडकखण्डको काम ९१ दशमलव लगभग प्रतिशत सम्पन्न ५० प्रतिशत सम्पन्न भएसँगै बुधबारबाट चौबिसै घन्टा यातायात खुला गरिएको छ ।

यसअघि हरेक दिन ६/७ घन्टा दैनिक बन्द गरेर काम गरेको आयोजनाले पहिलो तहको कालोपत्रे सम्पन्न गरिसकेकाले अब कुनै पनि समय सडक बन्द गरेर काम गर्नुपर्ने अवस्था नरहेको मुग्लिन–नारायणगढ सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए । ३६ किलोमिटर लामो यो सडकखण्डको ३३ दशमलव २ प्रतिशत सडक एसियाली मापदण्डअनुसार निर्माण गरिएको छ ।
‘समग्रमा ३३ दशमलव २ किलोमिटरमा पहिलो तहको कालोपत्रे सकिइसकेको छ’, उनले भने, ‘३२ दशमलव ७० किलोमिटरमा दोस्रो तहको र १२ दशमलव ७ किलोमिटरमा तेस्रो तहको कालोपत्रे सम्पन्न भएको छ भने भौतिक प्रगति ९१ दशमलव ५० प्रतिशत पुगेको छ ।’ उक्त सडकखण्डलाई तीनवटा निर्माण कम्पनीले ठेक्का लिइ काम गरेका छन् । पहिलो खण्डअन्तर्गत आँपटारी देखी दासढुंगा खण्डको १० दशमलव ४५ किलोमिटरका लागि बीएलए एससिसी जेभीले काम गर्ने जिम्मा पाएको थियो ।
नयाँ बन्ने दासढुंगा पुलबाहेक पहिलो खण्डमा दोस्रो तहको कालोपत्रे भइसकेको सूचना अधिकारी खनालले बताए । ‘तेस्रो तहको कालोपत्रे पनि दुई किलोमिटर सकिएको छ’, उनले भने, ‘यो खण्डको भौतिक प्रगति ९१ दशमलव २० प्रतिशत पुगेको छ ।’ भौगोलिक दृष्टिकोणले यो खण्डमा काम गर्न अन्यको तुलनामा केही सहज देखिन्छ ।
वुडहिल लामा जेभीले जिम्मा पाएको दोस्रो खण्डअन्तर्गतको दासढुंगा देखी सिमलताल खण्डको १० दशमलव ६९ किलोमिटरमा तिनै तहको कालोपत्रे सम्पन्न भइसकेको छ । समग्रमा यो खण्डको भौतिक प्रगति ९७ दशमलव ५० प्रतिशत रहेको उनले बताए । यस्तै गरी, सुप्रिम रौताहा जेभीले जिम्मा पाएको सिमलताल–मुग्लिन खण्डको १२ दशमलव १५ किलोमिटर सडकमा पनि पहिलो तहको कालोपत्रे सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । तीमध्ये ११ दशमलव ८० किलोमिटरमा दोस्रो तहको कालोपत्रे सम्पन्न भइसकेको छ । यो खण्डमा तेस्रो तहको कालोपत्रे भने सुरू भइसकेको छैन । अन्य दुई खण्डको तुलनामा यो खण्ड पहिरोको दृष्टिकोणले पनि बढी जोखिमयुक्त मानिन्छ ।
बाँकी रहेका ठाउँमा दोस्रो र तेस्रो तहको कालोपत्रे गर्ने काम म्याद थप भएमा सोही समयभित्र र यदि म्याद थप नभएमा जरिबाना तिराएर भए पनि सहजै सम्पन्न गर्न सकिने उनले बताए । तर, सडक स्तरोन्नतिको काम सकिए पनि वर्षा सुरू भइसकेकोले पहिरोको समस्या हुन सक्छ ।