जी सेभेन बैठकमा राष्ट्रपति ट्रम्प एक्लिए

802
views

काठमाडौँ । क्यानडामा ठूला औद्योगिक राष्ट्रहरूको समूह जी सेभेनको एउटा शिखर बैठकमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र अन्य नेताहरूबीच तीव्र मतभेद देखिएको छ । क्राइमियालाई आफूमा गाभेपछि समूहबाट निकालिएको रुसलाई फेरि समावेश हुन अमेरिकी राष्ट्रपतिले आश्चर्यजनक रूपमा आग्रह गरे ।

तर जर्मन चान्सलर एंगेला मर्केलले शिखर बैठकमा सहभागी युरोपेली संघका अरू सदस्य राष्ट्रहरू त्यस्तो हुनु हुँदैन भन्ने कुरामा सहमत रहेको बताइन् ।

रुसी राष्ट्रपति कार्यालय क्रेम्लिनका एकजना प्रवक्ताले चाहिँ आफूहरू जी सेभेनको सट्टा ’अरू संरचनामा इच्छुक रहेको’ प्रतिक्रिया दिएका छन् ।

खतरा
ट्रम्प प्रशासनले हालै स्टील र एलुमिनियम आयातमा लगाएको करसम्बन्धी विषय शिखर बैठकमा हावी भएको छ ।
क्यानडाले ट्रम्प प्रशासनले व्यापारमा लगाएको कर ’गैरकानूनी’ भएको बताएको छ । युरोपेली परिषद्का अध्यक्ष डोनाल्ड टुस्कले व्यापार, जलवायु परिवर्तन र इरानबारेको ट्रम्पको अडानले ’वास्तविक खतरा उत्पन्न गराएको’ चेतावनी दिए ।

यद्यपि ट्रम्पसँगको भेटवार्तापछि फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले कुराहरू अगाडि बढिरहेको र व्यापारको विषयमा प्रगति गर्ने सम्भावना अझै रहेको बताए ।
विश्वस्त

तर विस्तृत उनले रूपमा केही बताएनन् । शिखर बैठकको अन्त्यमा संयुक्त वक्तव्य जारी नहुने हल्लापछि राष्ट्रपति ट्रम्पले त्यो जारी हुनेमा आफू विश्वस्त रहेको बताए ।

जी सेभेनको वार्षिक बैठकले क्यानडा, अमेरिका, ब्रिटेन, फ्रान्स, इटली, जापान र जर्मनीलाई एक ठाउँमा ल्याएको छ । आर्थिक विषय प्रमुख मुद्दा भए पनि महत्त्वपूर्ण विश्वव्यापी मुद्दाहरूले पनि बैठकमा स्थान पाउन थालेका छन् । बीबीसी