अझै पनि यात्रुले सहज यात्रा गर्न सक्ने अवस्था छैन नारायणगढ–मुग्लिन सडक

834
views

चितवन, जेठ ३१ कालोपत्रे गर्ने काम सकिए पनि नारायणगढ–मुग्लिन सडकका साँघुरा एवं जीर्ण पुल र पहिरोका कारण यात्रामा सास्ती भोग्नुपर्ने अवस्था कायमै छ ।

सडकमा रहेका १८ वटा साँघुरा एवं जीर्ण पुल र ३१ स्थानको पहिरो जोखिम क्षेत्रकै कारण यो सडकमा अझै पनि यात्रुले सहज यात्रा गर्न सक्ने अवस्था छैन ।
“यस सडकमा रहेका पुलहरू प्रायः जीर्ण र साँघुरा छन् । सडक राम्रो भएर मात्रै हँुदैन, साँघुरा पुलकै कारण सडकमा हुने ट्राफिक जामको हैरानी बेहोर्नुपर्ने अवस्था छ”, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सन्तोष पन्त भन्नुहुन्छ, “कतिपय पुलका रेलिङ नै छैनन्, भएका रेलिङ पनि भाँचिएर जीर्ण हँुदा त्यसबाट सवारीसाधन खसेर दुर्घटना हुने जोखिम कायमै छ । ”
नारायणगढ–मुग्लिन सडकको ३६ किलोमिटर दूरीमा अहिले १८ वटा ठूलासाना पुल छन् । प्रायः पुलको चौडाइ छ मिटर छ । सडकको स्तरवृद्धिसँगै यो चौडाइ थोरै हो ।
“यो सडकमा कम्तीमा पनि ११ मिटर चौडाइ भएका पुल आवश्यक हुन्छ”, पन्तले भन्नुभयो । जीर्ण पुलमध्ये पनि १० वटाको अवस्था त झनै दयनीय छ । “कति पुलका बार नै छैनन्, कुन दिनमा त्यही बारबाट सवारीसाधन खसेर ठूलो दुर्घटना हुन सक्छ”, पन्तले भन्नुभयो ।