बिम्स्टेक सम्मेलनको तयारी तिव्र

1320
views

काठमाडौं, ८ असार । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनको आयोजना गर्न सरकारले तयारी तीव्र बनाएको छ । सम्मेलनको पूर्वतयारीका लागि सरकारले प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय मूल समिति गठन गरेको छ ।

त्यस्तै परराष्ट्रमन्त्रीको संयोजकत्वमा सम्मेलन तयारी तथा समन्वय, अर्थमन्त्रीको संयोजकत्वमा अर्थ, गृहमन्त्रीको संयोजकत्वमा सुरक्षा, परिवहन तथा यातायात, सञ्चार तथा सूचना प्रविधि मन्त्रीको संयोजकत्वमा सञ्चार व्यवस्थापन तथा प्रचारप्रसार र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको संयोजकत्वमा भौतिक पूर्वाधार व्यवस्था तथा नगर सजावट समिति गठन गरिएको छ ।

बिम्स्टेकको अध्यक्ष हाल नेपाल छ । सरकारले भदौ १४ र १५ गते नेपालमा बिम्स्टेकको चौथो शिखर सम्मेलन गर्ने मिति प्रस्ताव गरेको छ । सन् १९९७ मा स्थापना भएको बिम्स्टेकमा नेपाल, भारत, बङ्गलादेश, म्यानमार, थाइल्यान्ड, भुटान र श्रीलङ्का सदस्यराष्ट्र छन् । नेपाल सन् २००४ मा यसको सदस्य बनेको हो ।

सञ्चार मन्त्रालयमा बिहीबार आयोजित सञ्चार व्यवस्थापन तथा प्रचारप्रसार समितिको बैठकले सम्मेलनमा सञ्चारसँग सम्बन्धित सुविधा प्रबन्ध मिलाउने, स्वदेशी तथा विदेशी प्रेस प्रतिनिधिलाई आवश्यक सहयोग र सुविधा उपलब्ध गराउने, प्रेस पास, बुलेटिन र प्रचारप्रसारका कार्य गर्ने सम्बन्धमा छलफल गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अध्यक्षतामा बसेको बैठकले सम्मेलनमा उपस्थित हुने पत्रकारको व्यवस्थापन सम्बन्धमा सरकारबाट आयोजना भएका सार्क शिखर सम्मेलनका अनुभवको अध्ययन गरी सोहीअनुरूप कार्यक्रम तयार गरी सूचना विभागले आगामी बैठकमा पेस गर्ने निर्णय गरेको छ ।

त्यस्तै सम्मेलनमा सहभागी हुने पत्रकारको प्रेस पासको व्यवस्था सूचना विभागले पत्रकारको सङ्ख्या र सञ्चारगृहसँग छलफल तथा अन्तरक्रिया गरी कार्यक्रम स्थलको क्षमता तथा संवेदनशीलतासमेत हेरी निर्धारण गर्ने भएको छ ।

प्रेस सेन्टरको व्यवस्थापनसम्बन्धी विस्तृत योजना सूचना विभागले तयार गरी आगामी बैठकमा पेस गर्ने र सम्मेलनको उद्घाटन र समापन कार्यक्रममा अधिकतम पत्रकारको उपस्थिति हुने तर अन्य कार्यक्रममा छानिएका पत्रकारको मात्र पहँुच हुन सक्ने व्यवस्था कायम गर्ने बैठकले निर्णय गरेको छ । सम्मेलनको कार्यक्रमस्थल र तालिका परराष्ट्र मन्त्रालयले उपलब्ध गराउने भएको छ ।

कार्यक्रम अवधिभर आयोजना स्थलमा निःशुल्क वाइफाईको व्यवस्था गर्ने, डिजिटल ब्यानरको व्यवस्था गर्ने, बिम्स्टेकका बारेमा जनतामाझ प्रचारप्रसार गर्नेलगायत विषयमा समेत बिहीबार छलफल भएको थियो । बिम्स्टेकको पहिलो शिखर सम्मेलन सन् २००४ मा थाइल्यान्ड, २००८ मा भारत र २०१४ मा म्यान्मारमा भइसकेको छ । सदस्यराष्ट्रबीच सहयोग र साझेदारी प्रवद्र्धन गरी आर्थिक विकास र समृद्धि हासिल गर्ने उद्देश्य रहेको बिम्स्टेकमा व्यापार, लगानी, गरिबी निवारण, कृषि, वातावरण संरक्षण, प्रविधि हस्तान्तरणलगायत १४ वटा सहयोगका क्षेत्र छन् । सन् २०१४ मा यसको सचिवालय बङ्गलादेशको ढाकामा स्थापना गरिएको छ ।