प्रतिघण्टा ३० किलोमिटरको गतिमा कुद्ने चालकरहित बस सञ्चालनमा

635
views

अस्ट्रेलिया — दक्षिण अस्ट्रेलियाको एडिलेडमा रहेको फिल्न्डर्स युनिभर्सिटीले चालकरहित बस सञ्चालन गरेको छ । प्रतिघण्टा ३० किलोमिटरको गतिमा दौडने बस बुधबार सुरुआत गरेको हो ।

५ वर्षको परीक्षणका लागि बुधबारदेखि सर्वसाधारणलाई सेवा दिने गरी सरु भएको उक्त बसलाई फिल्न्डर्स एक्सप्रेस वा फ्लेक्स नाम दिइएको छ । १५ यात्रु बस्न मिल्ने बसमा एकजना सहयोगीले यात्रुहरुलाई आवश्यक निर्देशन दिनेछन् । बस कुन रुटमा चलाउने तय गरेर प्रोगाम गरेपछि यात्रुहरुलाई सेवा प्रदान गर्दछ ।

यात्राका लागि निस्शुल्क बुक गर्न मिल्ने कारमा जीपीएस, सेन्सर, राडरलगायतका वैज्ञानिक पद्धथिहरु जडान गरिएको युनिभर्सिटीका सिभिल इन्जिनियर प्रोफेसर रोक्को जिट्टोले जनाएका छन् ।

तत्कालका लागि युनिभर्सिटीबाट नजिकको क्लोभली रेल स्टेसनसम्म मात्र सञ्चालनमा ल्याइएको चालकरहित कारलाई भविष्यमा मुख्य सडकहरुमा समेत गुडाइने बताइएको छ ।

अस्ट्रेलियाका यातायातमन्त्री स्टेफन नोलले यो प्रविधियुक्त सवारीको सफल सुरुआत प्रविधिमा एक कदम अघि बढाएको बताएका छन् । उनले भविष्यमा यस्तो प्रविधि दैनिक जीवनको एक हिस्सा हुने बताउँदै चाकलरहित कारले सडकलाई सुरक्षित हुन मद्दत र्पुयाउने र यो सुरक्षित रहेको दाबी गरेका छन् ।

न्यु साउथ वेल्स, पश्चिम अस्ट्रेलिया, भिक्टोरिमा समेत यस्तै चालकरहित सवारी साधनको परीक्षण र सञ्चालनको तयारी गरिएको छ ।