सरकारले राज्य आतङ्क मच्चाएको काँग्रेसको आरोप

734
views

काठमाडौँ, ८, असार । काँग्रेस जिल्ला सभापतिहरुको भेलाले १९ बुँदे घोषणापत्र जारी गर्दै सरकारले राज्य आतङ्क मच्चाएको आरोप लगाएको छ । सरकारको यस्तै रवैया कायम रहे देशव्यापी आन्दोलन गर्ने चेतावनी पनि दिएको छ ।

शुक्रबार सम्पन्न काँग्रेस जिल्ला–सभापतिहरुको भेलाले पार्टीमा देखिएको गुट–उपगुटको अन्त्य गर्ने र पार्टी सङ्गठन निर्माण गर्न देशभरि जागरण अभियान संचालन गर्ने समेत जनाएको छ ।

तीन दिनसम्म चलेको भेलामा देशका सतहत्तरै जिल्लाका जिल्ला सभापतिहरू, केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरू, नेताहरू र कार्यकर्ताहरूको सहभागी रहेको थियो ।

भेलाले जारी गरेको हेटौंडा घोषणापत्रमा सरकारले अधिनायकवाद लाद्न खोजेको सबै कार्यकर्ताहरू चनाखो हुन आग्रह गरिएको छ ।

भेलालाई संबोधन गर्दै पार्टी केन्द्रिय सभापति शेरबहादुर देउवाले निर्वाचनमा हारको जिम्मेवार सबैले लिंदै अब पार्टीलाई अघि बढाउन जिल्ला–जिल्लामा सरकारविरुद्धका कार्यक्रम चलाउन आग्रह गरे । उनले गुटमा सहभागी नभई सिङ्गो पार्टीमा लाग्न र संगठन निर्माणमा लाग्न पनि अनुरोध गरे ।

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधी, महामन्त्री शशांक कोइराला लगायतका नेताहरूले पनि पार्टी्भित्र देखिएको गुट अन्त्य गरेर सिंगो पार्टीको हितमा काम गर्नुपर्नेमा जोड दिएका थिए ।

भेलामा सहभागी जिल्ला सभापतिहरूले नेतृत्वका कारण पार्टी पराजय भएकोले सहि रूपमा समीक्षा गरेर नयाँ कार्यक्रम चलाउनपर्ने बताएका थिए ।

सभापतिहरूको भेलापछि आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रबक्ता विश्वप्रकाश शर्माले यो भेलाले पार्टीको आन्तरिक संगठन एक ढिक्का रहेको सन्देश दिएको बताए ।