ल्हासामा प्रम ओलीका छुट्टाछुट्टै कार्यक्रम

530
views

काठमाडौ, ९ असार । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली शुक्रबार तिब्बत पुगेका छन् । प्रधानमन्त्री ओली बेइजिङबाट तिब्बत सरकार प्रमुख छी चालाको साथमा ल्हासा पुगेका हुन् । शुक्रबार दिउँसो २ बजेतिर ल्हासा पुगेका उनलाई स्वायत्त क्षेत्रका उपप्रमुख लिउ जियाङले ल्हासा विमानस्थलमा स्वागत गरेका थिए । शुक्रबारै ओलीले ल्हासामा रहेका नेपालीसँग अन्तरक्रिया गरेका छन् ।

प्रधानमन्त्री ओलीलाइ इन्टरकन्टिनेन्टल होटेलमा सरकार प्रमुख छीले शिष्टाचार भेट गरेका छन् । आज शनिवार तिब्बतमा प्रधानमन्त्री ओलीका विभिन्न कार्यक्रमहरु रहेका छन् ।

बिहान प्रधानमन्त्री ओलीले तिब्बतका दुई धार्मिक स्थलको अवलोकन गर्ने कार्यक्रम रहेको छ । सुरुमा प्रसिद्ध मन्दिर पोतला दरबार घुम्ने र त्यसपछि तिब्बतियनको पवित्र मन्दिर जोखाङ जाने कार्यक्रम रहेको छ ।

यी दुवै मन्दिरको नेपालकी भृकुटीसँग साइनो छ । जोखाङ मन्दिर सातौँ शताब्दीमा नेपालबाट बुद्धको मूर्ति लगेर भृकुटीले स्थापना गरेको किंबदन्ती छ । तिब्बतियन भाषामा जोखाङ भनेको बुद्धको घर हो ।

दिउँसो कृषि परियोजना हेर्ने
प्रधानमन्त्री ओलीले दिउँसो ल्हासाबाट आधा घन्टाको दूरीमा रहेको छुसुई एग्रिकल्चर परियोजनाको अवलोकन गर्न जाने कार्यक्रमसँगै छुसुई परियोजना पुग्नेछन् ।

साँझ रात्रिभोजमा सहभागी
छुसुई एग्रिकल्चर परियोजना अवलोकनपछि साँझ प्रधानमन्त्री ओली नेपाल वाणिज्य दूतावासले आयोजना गर्ने रात्रिभोजमा सरिक हुनेछन् । भ्रमण तालिकाअनुसार आइतबार प्रधानमन्त्री ओली स्वदेश फर्किने कार्यक्रम छ ।