१६ युरोपेली राष्ट्रका नेता आप्रवासी संकटबारे शिखर सम्मेलनमा सहभागी हुँदै

561
views

ब्रसेल्स, ९, असार । युरोपेली संघ (इयू) का १६ मुलुकका नेताले ब्रसेल्समा हुने आप्रवासी संकटबारे आइतबार हुने शिखर सम्मेलनमा भाग लिने संकेत गरेका छन् ।

आप्रवासी शरणार्थीबारे समाधान निकाल्न सम्मेलनको आयोजना यूरोपेली आयोगका प्रमुख जाँ क्लाउड जंकरले गरेका हुन् । आप्रवासीको समस्या समाधानमा कसले पहिले प्रक्रिया थाल्छ भनी विश्वभरबाट चासो बढिरहेका समय ती देशका नेताहरूले समाधानका लागि गर्न लागिएको छलफलमा भाग लिने संकेत गरेका हुन् ।

इयू सदस्य राष्ट्रमध्ये सबैभन्दा आप्रबासीका कारण ग्रीस र इटालीमाथि भार परिरहेका समय ती देशहरूले उक्त भारलाई समान बहन गर्नुपर्ने बताएका हुन् । आयोगका प्रवक्ता अलेक्जेन्डर विन्टर्सस्टनले आप्रवासी संकटबारे शुरुमा आठ मुलुकबीच छलफल गरेको बताए ।

उनले अहिले १६ वटा मुलुक अनौपचारिक छलफल गर्न तयार रहेको जानकारी दिए । शुरुमा बेल्जियम, नेदरल्याण्ड, क्रोएसिया, स्लोभानिया, डेनमार्क, फिनल्याण्ड, स्वीडेन र लक्जेम्वर्गबीच कुराकानी भएको र अब अन्य मुलुकसँग छलफल हुने उनको भनाइ थियो ।

जर्मन चान्सलर एन्गेला मर्केल, फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रों, स्पेनी प्रधानमन्त्री पेड्रो साञ्चेज, माल्टाली प्रधानमन्त्री जोसेफ मस्कटले यस पहिले नै सम्मेलनमा सहभागिता हुने जनाएको अधिकारीहरूले बताएका छन् । सम्मेलनमा इटाली र ग्रीस पनि सहभागी हुने बताइएको छ । तर, हंगेरी, पोल्याण्ड, चेक रिपब्लिक र स्लोभाकियाजस्ता आप्रबासी समस्याबारे विरोधी मानिने मुलुकले सम्मेलनमा सहभागिता नजनाउने बताइसकेका छन् । (एजेन्सी)